logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    बिचौलिया अन्त्य गर्दै भैरहवा भन्सार कार्यालय


    ५ साउन २०८३ , मंगलबार

    बिचौलिया अन्त्य गर्दै भैरहवा भन्सार कार्यालय

    लुम्बिनीखबर
    भैरहवा, ५ साउन । भैरहवा भन्सार कार्यालयले भन्सार हाताभित्र सक्रिय बिचौलिया (अनधिकृत प्रतिनिधि) को प्रवेश रोक्न कडाइ सुरु गरेको छ। भन्सार विभाग र नेपाल भन्सार एजेन्ट संघबीच भएको सहमतिअनुसार लागू गरिएको कार्यविधिअनुसार अनधिकृत व्यक्तिलाई भन्सार हाताभित्र प्रवेश निषेध गरिएको हो।

    भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल ले भन्सारको कामलाई पारदर्शी, व्यवस्थित र कानुनी प्रक्रियाअनुसार सञ्चालन गर्न यो व्यवस्था लागू गरिएको बताउनुभयो। उहाँका अनुसार नेपाल सरकारबाट मान्यता प्राप्त भन्सार एजेन्ट वा एजेन्टले विधिवत् नियुक्त गरेका आधिकारिक प्रतिनिधिले मात्रै भन्सारसम्बन्धी काम गर्न पाउनेछन्। अनधिकृत रूपमा एजेन्टको परिचयपत्र प्रयोग गरी काम गर्ने व्यक्तिलाई प्रवेश नदिइने उहाँको भनाइ छ।

    भैरहवा भन्सार कार्यालयमा हाल करिब १२० जना आधिकारिक भन्सार एजेन्टका प्रतिनिधि सक्रिय रहेका छन्। यसअघि भने पाँच सयभन्दा बढी परिचयपत्र प्रयोग गरी, तीमध्ये धेरैजसो भारतीय नागरिक अनधिकृत रूपमा भन्सार परिसरमा आवतजावत गर्ने गरेको भन्सार एजेन्टहरूको भनाइ छ।

    भैरहवा भन्सार एजेन्ट संघका महासचिव विष्णु भुसाल ले बिचौलिया तन्त्रका कारण नेपाली भन्सार एजेन्टहरूले काम गर्न कठिनाइ भोग्दै आएको र सेवा प्रवाहसमेत प्रभावित भएको बताउनुभयो। उहाँले भन्सारसम्बन्धी सबै काम कानुनी मान्यता प्राप्त एजेन्टमार्फत मात्रै हुनुपर्ने भन्दै बिचौलिया तन्त्रको अन्त्यका लागि संघले भन्सार कार्यालयसँग समन्वय गरेर अभियान अघि बढाएको जानकारी दिनुभयो।

    भन्सार एजेन्ट संघका अनुसार अनधिकृत व्यक्तिको संलग्नताले सेवाग्राही ठगिने, काममा अपारदर्शिता बढ्ने तथा नेपाली एजेन्टहरूको पेशागत अवसरसमेत प्रभावित हुने अवस्था देखिएकाले यस्तो कदम चालिएको हो।

    उता, जिल्ला प्रहरी कार्यालय रुपन्देही ले पनि भन्सार क्षेत्रमा बिचौलियाको गतिविधिबारे जानकारी रहेको जनाउँदै आवश्यक अनुसन्धान तथा निगरानीलाई तीव्र बनाइएको जनाएको छ। प्रहरीका अनुसार अनधिकृत रूपमा बिचौलियाको भूमिका निर्वाह गर्ने व्यक्तिको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइनेछ।

    भन्सार कार्यालयले अबदेखि कानुनबमोजिम मान्यता प्राप्त एजेन्ट र उनीहरूले आधिकारिक रूपमा तोकेका प्रतिनिधिबाहेक अन्य कसैलाई पनि भन्सार हाताभित्र प्रवेश गर्न नदिने स्पष्ट गरेको छ। यसबाट भन्सार प्रशासनलाई थप पारदर्शी, जवाफदेही र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.