logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा १२ बाट घटाएर ८ मन्त्रालय बनाइने


    ५ साउन २०८३ , मंगलबार

    लुम्बिनीमा १२ बाट घटाएर ८ मन्त्रालय बनाइने

    लुम्बिनीखबर
    भैरहवा,५ साउन । लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाउने गृहकार्यलाई तिब्रताकासाथ अगाडि बढाइएको छ । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च कटौती र मितव्ययिता अपनाउने उद्येश्यले मन्त्रालयको संख्या घटाउने गृहकार्य अगाडि बढाइएको हो ।
    गत जेठ १ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेशका मौजुदा १२ मन्त्रालयलाई घटाएर ८ मा झार्ने निर्णय गरेअनुरूप सरकारले यस सम्बन्धी प्रशासनिक तयारी गरेको हो ।
    सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा समेत मन्त्रालय घटाउने विषयलाई प्राथमिकतामा राखिएको थियो । मन्त्रालय घटाउने निर्णय कार्यान्वयनका लागि प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीको संयोजकत्वमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरिएको थियो ।
    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शम्भुप्रसाद मरासिनीले समितिले प्रशासनिक र प्राविधिक रूपमा छलफल गरेर आवश्यक खाका तयार पारिसकेको जनाएका छन् । समितिले गर्नुपर्ने सबै काम सकेर आवश्यकता अनुसारको खाका तयार गरेको र यसका लागि राजनीतिक सहमतिको पर्खाइमा रहेको उनको भनाइ छ । ‘यो राजनीतिक बिषयपनि भएकाले राजनीतिक सहमति हुनासाथ कार्यान्वयन गर्न सक्ने गरी प्रशासनिक तयारी पूरा भएको छ’, मरासिनीले भने ।
    मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रालय घटाउने सरकारको निर्णय साउन १ गतेदेखि नै कार्यान्वयन गर्ने तयारी भए पनि बदलिँदो राजनीतिक घटनाक्रमका कारण केही विलम्ब भएको बताएका छन् ।
    ‘हामी तयारी अवस्थामै छौँ, तर सत्ता समीकरणमा केही फेरबदलको संकेत देखिएकाले राजनीतिक सहमति जुटाउन केही दिन पर्खिनुपर्ने भएको छ’, मुख्यमन्त्री आचार्यको भनाइ छ । जस्तोसुकै परिस्थिति आए पनि साउन महिनाभित्रै मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा ल्याइने दृढता उनको छ ।
    खर्च नियन्त्रण, प्रशासनिक मितव्ययिता र सुशासन कायम गर्न मन्त्रालयको संख्या ८ मा झार्नु अनिवार्य रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ । यो निर्णय कार्यान्वयन नभए प्रदेशको आम्दानीभन्दा खर्च बढी हुने र संघीयताप्रति जनताको आक्रोश थप बढ्ने खतरा उनले औंल्याएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.