logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सुशासन र जनमुखी विकासमार्फत नमुना बन्दै ओमसतिया गाउँपालिका


    ५ साउन २०८३ , मंगलबार

    सुशासन र जनमुखी विकासमार्फत नमुना बन्दै ओमसतिया गाउँपालिका

    कमल रायमाझी
    रुपन्देही, ५ साउन । रुपन्देहीको ओमसतिया गाउँपालिका विकास निर्माण, सुशासन, सेवा प्रवाह र जनसहभागितामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नमुना स्थानीय तह बन्ने अभियानमा अग्रसर भएको छ। भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, सरसफाइ, खेलकुद तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेर गाउँपालिकाले विकासका कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ।

    गाउँपालिकाले दीर्घकालीन, मध्यकालीन र तत्काल कार्यान्वयन गर्नुपर्ने योजनालाई समेटेर ‘मास्टर प्लान’ तयार गरी सोहीअनुसार विकास निर्माणका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। स्थानीय आवश्यकता र जनचाहनालाई आधार मानेर योजना छनोट, बजेट विनियोजन र कार्यान्वयन गरिएकाले विकासका प्रतिफल नागरिकसम्म पुग्न थालेको गाउँपालिकाको दाबी छ।

    गाउँपालिका अध्यक्ष मञ्जित यादवले स्थानीय सरकारको मुख्य उद्देश्य नागरिकको जीवनस्तर सुधार गर्नु रहेको बताउँदै विकासका सबै कार्यक्रम जनताको आवश्यकतालाई केन्द्रमा राखेर सञ्चालन गरिएको बताउनुभयो।

    उहाँले भन्नुभयो, “हामीले विकासलाई केवल सडक र भवन निर्माणमा सीमित गरेका छैनौँ। शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, सरसफाइ, खेलकुद र सामाजिक रूपान्तरणलाई समान प्राथमिकतामा राखेका छौँ। जनताको आवश्यकता जहाँ छ, त्यहीँ स्थानीय सरकार पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो।”

    उहाँका अनुसार निर्वाचित भएर आएको चार वर्षको अवधिमा गाउँपालिकाले सडक सञ्जाल विस्तार, विद्यालय तथा स्वास्थ्य संस्थाको स्तरोन्नति, कृषि आधुनिकीकरण, फोहोर व्यवस्थापन, बजार व्यवस्थापन र सामाजिक सेवामा उल्लेखनीय प्रगति हासिल गरेको छ।

    गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले विकास योजनामा महिला, दलित, विपन्न, ज्येष्ठ नागरिक, बालबालिका तथा पछाडि पारिएका समुदायलाई विशेष प्राथमिकता दिइएको बताउनुभयो।

    उहाँले भन्नुभयो, “समावेशी विकासबिना समृद्ध गाउँपालिका सम्भव छैन। त्यसैले महिला सशक्तीकरण, सीप विकास, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाका कार्यक्रमलाई वडा तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गरेका छौँ।”

    गाउँपालिकाले कृषिलाई स्थानीय अर्थतन्त्रको प्रमुख आधारका रूपमा अघि बढाएको जनाएको छ। किसानलाई आधुनिक कृषि प्रविधि, उन्नत बीउबिजन, सिँचाइ, कृषि उपकरण, पशुपालन तथा व्यावसायिक खेतीमा प्रोत्साहन गर्दै उत्पादन वृद्धि र आयआर्जन बढाउने कार्यक्रम सञ्चालन गरिएको छ।

    प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले प्रशासनलाई सेवामैत्री, पारदर्शी र प्रविधिमैत्री बनाउने अभियान सञ्चालन गरिएको बताउनुभयो।

    उहाँले भन्नुभयो, “स्थानीय सरकारप्रतिको नागरिकको विश्वास सेवा प्रवाहबाट निर्माण हुन्छ। त्यसैले छिटो, सरल र पारदर्शी सेवा दिन कर्मचारी संयन्त्रलाई जिम्मेवार बनाएका छौँ। सुशासन र उत्तरदायित्वलाई संस्थागत गर्ने दिशामा गाउँपालिका अघि बढिरहेको छ।”

    उहाँका अनुसार सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, नियमित अनुगमन तथा सूचना प्रविधिमार्फत सेवा विस्तार गरिएकाले नागरिकको गुनासो घट्दै गएको छ।

    गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत कमलप्रसाद शर्माले वित्तीय अनुशासन र पारदर्शितालाई उच्च प्राथमिकतामा राखेर बजेट कार्यान्वयन गरिएको बताउनुभयो।

    उहाँले भन्नुभयो, “हामीले उपलब्ध स्रोतसाधनलाई परिणाममुखी क्षेत्रमा केन्द्रित गरेका छौँ। बजेट खर्चमा पारदर्शिता, आर्थिक अनुशासन र सार्वजनिक स्रोतको अधिकतम सदुपयोगलाई प्राथमिकता दिएका छौँ।”

    गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, मातृ–शिशु स्वास्थ्य, खोप, पोषण तथा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। शिक्षा क्षेत्रमा विद्यालयको भौतिक सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक क्षमता विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणका कार्यक्रम अघि बढाइएको छ।

    युवालाई स्वरोजगार र उद्यमशीलतासँग जोड्न सीपमूलक तालिम, कृषि तथा साना उद्यम प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। खेलकुद, वातावरण संरक्षण, सरसफाइ तथा फोहोर व्यवस्थापनमा समेत स्थानीय सरकार सक्रिय रहेको उल्लेख गरिएको छ।

    गाउँपालिकाले विकास निर्माणसँगै सुशासन, सामाजिक उत्तरदायित्व, जनसहभागिता र आर्थिक अनुशासनलाई समान प्राथमिकतामा राख्दै नागरिकमैत्री स्थानीय सरकार निर्माण गर्ने लक्ष्यसहित काम गरिरहेको जनाएको छ। स्थानीयवासीको सक्रिय सहभागितामा सञ्चालन भएका विकास कार्यक्रमले ओमसतिया गाउँपालिकालाई रुपन्देहीकै नमुना स्थानीय तहका रूपमा स्थापित गर्ने आधार तयार हुँदै गएको गाउँपालिकाको विश्वास छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.