शहबाज खान/लुम्बिनीखबर
कपिलवस्तु, १३ साउन । कपिलवस्तुको तौलिहवा–बहादुरगञ्ज सडकखण्ड अन्तर्गत महाराजगञ्ज नगरपालिका–२ स्थित गैडहवा चोकमा बुधबार बिहान भएको भीषण सडक दुर्घटनामा एक बालकसहित तीन जनाको ज्यान गएको छ।
प्रहरीका अनुसार बिहान करिब ७ः१५ बजे बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको मदिरा बोकेको ट्रकले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा स्थानीय १२ वर्षीय आनन्द कश्यप, महाराजगञ्ज नगरपालिका–३ निवासी ७५ वर्षीय भोलई कुर्मी र ४५ वर्षीय विजयकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ। तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनापछि आक्रोशित स्थानीयवासी घटनास्थलमा जम्मा भएका थिए। प्रहरीले तत्काल ट्रक र चालकलाई नियन्त्रणमा लिएर अवस्था सामान्य बनाएको जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ। प्रारम्भिक रूपमा तीव्र गति वा लापरबाहीका कारण दुर्घटना भएको हुन सक्ने आशंका गरिए पनि आधिकारिक निष्कर्ष आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यस घटनाले पुनः एकपटक कपिलवस्तुका मुख्य सडकमा बढ्दो सवारी दुर्घटना र सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।