लुम्बिनीखबर
सिद्धार्थनगर, १३ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले विद्यार्थी बोक्ने सवारीसाधनमा विशेष सर्प्राइज चेकजाँच अभियान सञ्चालन गरेको छ। अञ्चलपुरस्थित चेकपोस्टमा गरिएको अभियानअन्तर्गत विद्यालयका बस तथा अन्य विद्यार्थी बोक्ने सवारीसाधनलाई बाटोमै रोकेर आवश्यक निरीक्षण गरिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार विद्यालयका सवारीसाधनमा विद्यार्थीको अत्यधिक चाप, चालकको सवारी चालक अनुमति पत्र (लाइसेन्स), ब्लुबुक, सवारी सञ्चालनमा हुने लापरवाही तथा अन्य आवश्यक कागजातसम्बन्धी विषयमा बारम्बार गुनासा आउने गरेकाले यस्ता अभियान सञ्चालन गरिएको हो। उहाँले नियमको पालना गराउन, दुर्घटना न्यूनीकरण गर्न तथा विद्यार्थीको सुरक्षित यात्रालाई सुनिश्चित गर्न समय–समयमा सर्प्राइज चेकजाँच गरिँदै आएको बताउनुभयो।
अभियानमा खटिएका प्रहरी सहायक निरीक्षक विकास बस्नेतका अनुसार चेकजाँचका क्रममा चालक तथा सहचालकको मादक पदार्थ सेवन (मापसे) र लागू पदार्थ सेवन (लापसे) परीक्षण, सवारीमा विद्यार्थीको भार क्षमता, बसभित्रको सरसफाइ, आवश्यक कागजात तथा सुरक्षा मापदण्डको अवस्थाबारे निरीक्षण गरिएको थियो।
चेकजाँचका क्रममा २५ वटा सवारीसाधन परीक्षण गरिएकोमा दुई जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ। कारबाहीमा परेकामध्ये एक जना चालकले लाइसेन्स साथमा नराखेको र अर्का एक जना लापरवाहीपूर्वक सवारी सञ्चालन गरेको भेटिएको प्रहरी सहायक निरीक्षक बस्नेतले जानकारी दिनुभयो।
जिल्ला ट्राफिक प्रहरीले विद्यालयका सवारीसाधनलाई सुरक्षित, व्यवस्थित र मापदण्डअनुसार सञ्चालन गर्न सबै विद्यालय तथा चालकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।