कमल रायमाझी
भैरहवा, १५ साउन । स्वास्थ्य र पर्यटनलाई एकै सूत्रमा जोड्ने आरोग्य पर्यटन अहिले विश्व पर्यटन उद्योगको सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको क्षेत्र हो। मानिसहरू केवल घुमफिरका लागि मात्र होइन, शारीरिक स्वास्थ्य, मानसिक शान्ति, तनावमुक्त जीवन र स्वस्थ जीवनशैलीको खोजीमा विभिन्न मुलुक पुग्न थालेका छन्। यही विश्वव्यापी प्रवृत्तिबीच नेपालमा पनि आरोग्य पर्यटनको सम्भावना विस्तार हुँदै गएको छ। त्यसको एउटा सशक्त उदाहरण बनेको छ ट्रान्क्यूलिटी स्पा प्रालि, जसले हालै आईएसओ ९००१स्२०१५ गुणस्तर व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गर्दै नेपालको पहिलो र एकमात्र आईएसओ प्रमाणित स्पा तथा वेलनेस ब्रान्ड बन्न सफल भएको छ।
विश्वव्यापी मान्यता प्राप्त प्रमाणीकरण संस्थाबाट प्राप्त यो प्रमाणपत्रले ट्रान्क्यूलिटी स्पाको सेवा, सञ्चालन प्रणाली, सरसफाइ, सुरक्षा र गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको पुष्टि गरेको छ। यससँगै नेपालको वेलनेस उद्योगले पनि अन्तर्राष्ट्रिय स्तरमा नयाँ विश्वास हासिल गरेको छ।
विश्वभर स्वास्थ्यप्रति बढ्दो सचेतनासँगै स्पा उद्योगले पनि नयाँ स्वरूप ग्रहण गरेको छ। पहिले विलासिताको सेवाका रूपमा हेरिने स्पा अहिले आधुनिक स्वास्थ्य व्यवस्थापनको महत्वपूर्ण माध्यम बनेको छ। नियमित थेराप्युटिक मसाज, स्टिम, सौना, हाइड्रोथेरापी, योग तथा विश्राम उपचारले मानसिक तनाव कम गर्ने, रक्तसञ्चार सुधार गर्ने, निद्राको गुणस्तर बढाउने, मांसपेशीलाई आराम दिने तथा शरीरलाई ऊर्जावान बनाउने भएकाले विकसित मुलुकहरूमा वेलनेस सेवा स्वास्थ्य जीवनशैलीकै अभिन्न अंग बनिसकेको छ।
नेपाल प्राकृतिक सम्पदा, शान्त वातावरण, हिमाली हावा, जैविक जीवनशैली, योग, ध्यान र बुद्ध दर्शनको केन्द्र भएकाले आरोग्य पर्यटन विकासका लागि अत्यन्तै उपयुक्त मुलुक मानिन्छ। विशेषगरी बुद्ध जन्मस्थल लुम्बिनी, पोखरा, काठमाडौं र चितवनलाई केन्द्रमा राखेर वेलनेस पर्यटन विस्तार गर्ने प्रशस्त सम्भावना रहेको पर्यटन विज्ञहरूको भनाइ छ।
लुम्बिनी आउने लाखौं पर्यटक धार्मिक यात्रा मात्र होइन, मानसिक शान्ति र शारीरिक पुनर्ताजगीको अनुभव पनि खोजिरहेका हुन्छन्। यही आवश्यकतालाई ध्यानमा राख्दै भैरहवाको सिद्धार्थ विलास होटलमा सञ्चालित ट्रान्क्यूलिटी स्पाले अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्दै आएको छ। यसले लुम्बिनीको धार्मिक पर्यटनलाई आरोग्य पर्यटनसँग जोड्ने महत्वपूर्ण काम गरिरहेको छ।
ट्रान्क्यूलिटी स्पाले विगत १८ वर्षदेखि वेलनेस क्षेत्रमा निरन्तर सेवा दिँदै आएको छ। काठमाडौंको लाजिम्पाटबाट सुरु भएको कम्पनी अहिले काठमाडौं, पोखरा, चितवन, भैरहवा तथा मलेसियाका प्रतिष्ठित होटलहरूसँगको साझेदारीमा सञ्चालन भइरहेको छ। कम्पनीले आगामी वर्षहरूमा अन्य अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार गर्ने योजना अघि सारेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत भुवन फैजुका अनुसार आईएसओ प्रमाणपत्र केवल एउटा उपलब्धि होइन, प्रत्येक ग्राहकप्रतिको संस्थागत प्रतिबद्धताको प्रमाण हो। उहाँका अनुसार कम्पनीको जुनसुकै शाखामा पुगे पनि ग्राहकले समान स्तरको सेवा, सरसफाइ र गुणस्तर प्राप्त गर्ने सुनिश्चितताका लागि व्यवस्थापन प्रणाली विकास गरिएको हो।
त्यस्तै प्रमुख सञ्चालन अधिकृत रनिल फैजुले वर्षौंदेखि निर्माण गरिएको गुणस्तरीय सेवा प्रणालीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनु सम्पूर्ण संस्थाका लागि गर्वको विषय भएको बताउनुभएको छ। उहाँले गुणस्तर, निरन्तर सुधार र ग्राहक सन्तुष्टिलाई आगामी दिनमा अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
कम्पनीका निर्देशक नवीन थापाका अनुसार नेपालको वेलनेस उद्योगलाई विश्व बजारसँग प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ कम्पनी अघि बढिरहेको छ। उहाँले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा विस्तार, दक्ष जनशक्ति उत्पादन र आधुनिक प्रविधिको प्रयोगमार्फत नेपाललाई विश्वस्तरको आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ।
ट्रान्क्यूलिटी स्पाले स्वास्थ्य सेवामात्र होइन, रोजगारी सिर्जना र सीप विकासमा पनि उल्लेखनीय योगदान पुर्याएको छ। कम्पनीमा हाल ३०० भन्दा बढी जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। त्यस्तै ट्रान्क्यूलिटी इन्टरनेशनल ब्यूटी एन्ड स्पा एकेडेमीमार्फत ३,५०० भन्दा बढी युवायुवतीलाई वेलनेस तथा स्पासम्बन्धी व्यावसायिक तालिम प्रदान गरिसकिएको छ। तीमध्ये धेरैले नेपाल तथा विदेशमा रोजगारी र स्वरोजगारको अवसर प्राप्त गरेका छन्।
विशेषज्ञहरूका अनुसार वेलनेस उद्योगको विस्तारले होटल, पर्यटन, यातायात, कृषि, जैविक उत्पादन, आयुर्वेद तथा स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्छ। पर्यटकको बसाइ अवधि बढ्नुका साथै उनीहरूको खर्च वृद्धि हुँदा समग्र पर्यटन उद्योगलाई प्रत्यक्ष लाभ पुग्ने देखिन्छ।
भैरहवा शाखाका व्यवस्थापक कुन्दन बज्राचार्यका अनुसार स्पा केवल सौन्दर्यसँग सम्बन्धित सेवा होइन, स्वस्थ जीवनशैलीको एउटा वैज्ञानिक अभ्यास हो।
उहाँ भन्नुहुन्छ, “आजको व्यस्त जीवनशैलीमा मानिसहरू तनाव, थकान, निद्राको समस्या र विभिन्न शारीरिक असहजताबाट गुज्रिरहेका छन्। वैज्ञानिक विधिमा आधारित स्पा उपचारले शरीरलाई मात्र होइन, मनलाई पनि स्वस्थ बनाउँछ। मानिसलाई तन्दुरुस्त, बलियो, निरोगी र ऊर्जावान बनाउने उद्देश्यले नै वेलनेस सेवा विकसित भएको हो।”
उहाँका अनुसार नेपालमा आरोग्य पर्यटनको सम्भावना अत्यन्त ठूलो छ। अन्तर्राष्ट्रिय गुणस्तरको सेवा विस्तार गर्न सकिए नेपाल दक्षिण एसियाकै प्रमुख वेलनेस गन्तव्य बन्न सक्ने विश्वास उहाँ व्यक्त गर्नुहुन्छ।
लुम्बिनी क्षेत्रमा बुद्ध दर्शन, ध्यान, योग, मेडिटेसन, आयुर्वेद र अन्तर्राष्ट्रियस्तरको स्पा सेवालाई एउटै पर्यटन प्याकेजमा विकास गर्न सकिए नेपालले दक्षिण एसियामा विशिष्ट पहिचान बनाउन सक्ने सम्भावना बलियो देखिएको छ। यस्तो प्रयासले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, सेवा उद्योगको विस्तार र नेपालको पर्यटन ब्रान्डलाई समेत नयाँ उचाइमा पुर्याउन सक्छ।
ट्रान्क्यूलिटी स्पाले प्राप्त गरेको आईएसओ ९००१स्२०१५ प्रमाणपत्र एउटा निजी कम्पनीको सफलता मात्र होइन, नेपालको सम्पूर्ण वेलनेस उद्योगका लागि नयाँ मापदण्ड बनेको छ। अन्तर्राष्ट्रिय गुणस्तर, दक्ष जनशक्ति, आधुनिक सेवा र ग्राहकप्रतिको प्रतिबद्धतालाई आधार बनाएर अघि बढेको यो यात्रा सफल हुन सके नेपाल निकट भविष्यमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गर्न सकिन्छ।