झब्बर यादव /लुम्बिनीखबर
भैरहवा, १७ साउन । रुपन्देहीमा वन संरक्षण, जलाधार व्यवस्थापन, वन्यजन्तु उद्धार तथा जैविक विविधताको संरक्षणका क्षेत्रमा डिभिजन वन कार्यालयले उल्लेखनीय काम गर्दै आएको जनाएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि तय गरिएका सम्पूर्ण योजना सफलतापूर्वक सम्पन्न गरेको कार्यालयले अब आगामी वर्षका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारी थालेको छ ।
डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रवीण विडारीका अनुसार जिल्लास्तरीय वार्षिक समीक्षा र मन्त्रालयस्तरीय समीक्षा सम्पन्न भइसकेको छ । समीक्षा पश्चात् आगामी आर्थिक वर्षका लागि जलाधार संरक्षण, वन्यजन्तु संरक्षण, जैविक विविधताको संवद्र्धन तथा दिगो वन व्यवस्थापनका कार्यक्रमलाई थप व्यवस्थित ढंगले अघि बढाइने उहाँले बताउनुभयो ।

उहाँका अनुसार वन संरक्षण केवल सरकारी निकायको जिम्मेवारी मात्र नभई समुदायको सक्रिय सहभागितासँग जोडिएको विषय हो । त्यसैले आगामी योजनाहरू समुदायको आवश्यकता र सहभागितालाई केन्द्रमा राखेर कार्यान्वयन गरिनेछ ।
डिभिजन वन कार्यालयले वर्षभरि वन संरक्षणका नियमित कार्यक्रम सञ्चालन गर्दै आएको छ । वन क्षेत्रको निगरानी, जलाधार संरक्षण, जैविक विविधताको संरक्षण, वन व्यवस्थापन तथा वन्यजन्तुको संरक्षणलाई प्राथमिकतामा राखेर काम भइरहेको कार्यालयले जनाएको छ । विशेष गरी टुहुरा, घाइते तथा जोखिममा परेका वन्यजन्तुको नियमित उद्धार, उपचार र सुरक्षित बासस्थानमा पुनःस्थापनाको कार्य निरन्तर सञ्चालन हुँदै आएको छ ।

वन पैदावारको अवैध चोरी–निकासी नियन्त्रणमा पनि कार्यालयले सक्रियता बढाएको छ । प्रमुख विडारीका अनुसार वन पैदावार चोरी–निकासी तथा वनसम्बन्धी अपराधमा संलग्न व्यक्ति वा समूहलाई कानुनबमोजिम अनुसन्धानको दायरामा ल्याएर आवश्यक कारबाही अघि बढाइएको छ । वन क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला संस्थासँग समन्वय गर्दै अनुगमनलाई थप प्रभावकारी बनाइएको उहाँले जानकारी दिनुभयो ।
रुपन्देही जिल्लामा हाल १ सय ११ वटा सामुदायिक वन र २ वटा साझेदारी वन सञ्चालनमा रहेका छन् । यी वनहरू स्थानीय समुदायको सहभागितामा व्यवस्थापन हुँदै आएका छन् । सामुदायिक वनलाई अझ सक्रिय, उत्पादनमुखी र संरक्षणमैत्री बनाउने तथा साझेदारी वनको प्रभावकारी व्यवस्थापनमार्फत वन स्रोतको दिगो उपयोग सुनिश्चित गर्ने दिशामा कार्यालयले काम गरिरहेको जनाएको छ ।

प्रमुख विडारीका अनुसार वन संरक्षण र समुदायको जीविकोपार्जनबीच सन्तुलन कायम गर्दै वन क्षेत्रलाई वातावरणीय, आर्थिक र सामाजिक रूपमा अझ प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । वनको संरक्षणसँगै हरित वातावरण, जलस्रोत संरक्षण तथा जैविक विविधताको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको उहाँले बताउनुभयो ।
यसैबीच, कार्यालयले आफ्ना नर्सरीमा उत्पादन भएका विभिन्न प्रजातिका बिरुवाहरू निःशुल्क रूपमा वितरण गरिरहेको छ । वृक्षारोपण अभियानलाई थप प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, सामुदायिक वन उपभोक्ता समूह तथा सर्वसाधारणलाई बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ । यस अभियानले वन क्षेत्र विस्तार गर्नुका साथै हरियाली प्रवद्र्धन र वातावरण संरक्षणमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।
डिभिजन वन कार्यालयले पछिल्ला वर्षहरूमा वन डढेलो न्यूनीकरण, वन अतिक्रमण नियन्त्रण तथा अवैध फडानी रोक्न जनचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । स्थानीय समुदायसँगको सहकार्य, विद्यालयस्तरीय सचेतना कार्यक्रम तथा सामुदायिक वन उपभोक्ता समूहसँगको समन्वयलाई सुदृढ बनाउँदै संरक्षण अभियानलाई प्रभावकारी बनाइएको कार्यालयको भनाइ छ ।

प्रमुख विडारीले वन हाम्रो जीवन, वातावरण र भावी पुस्ताको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको अमूल्य प्राकृतिक सम्पदा भएकाले यसको संरक्षणमा सबै नागरिकको समान दायित्व रहेको बताउनुभयो। वन डढेलो नियन्त्रण, वन अतिक्रमण रोकथाम, वन पैदावार चोरी–निकासी नियन्त्रण तथा वन्यजन्तुको संरक्षणमा समुदायको सहयोग अपरिहार्य रहेको उहाँको भनाइ छ ।
उहाँले वन संरक्षणको अभियानलाई सफल बनाउन स्थानीय सरकार, सुरक्षा निकाय, सामुदायिक वन उपभोक्ता समूह, सञ्चारमाध्यम तथा आम नागरिकबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। वन संरक्षणका प्रयासलाई जनसहभागितासँग जोड्न सके मात्र वातावरणीय सन्तुलन कायम राख्दै प्राकृतिक सम्पदाको दिगो उपयोग सम्भव हुने विश्वास कार्यालयले व्यक्त गरेको छ ।
डिभिजन वन कार्यालय रुपन्देहीले आगामी दिनमा पनि वन संरक्षण, जलाधार व्यवस्थापन, वन्यजन्तु उद्धार, जैविक विविधता संरक्षण तथा हरियाली प्रवद्र्धनका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यालयले वन संरक्षणलाई साझा अभियानका रूपमा अघि बढाउन सबै सरोकारवाला निकाय र आम नागरिकलाई सक्रिय रूपमा सहभागी हुन समेत आग्रह गरेको छ ।