लुम्बिनीखबर
भैरहवा, १८ साउन । नेपाल–भारत व्यापारको प्रमुख नाका तथा मुलुककै दोस्रो ठूलो भैरहवा भन्सार कार्यालयमा भारतीय बिचौलियाको प्रभाव अझै कायम रहेको भन्दै भन्सार एजेन्टहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। भन्सार प्रशासनले केही समयअघि बिचौलियामुक्त भन्सार बनाउने अभियान सुरु गरे पनि त्यो अभियान प्रभावकारी रूपमा अघि बढ्न नसकेको सरोकारवालाको गुनासो छ।
भन्सार प्रशासनले सुरुमा बिचौलियाको प्रवेश नियन्त्रण गर्ने प्रयास गरेको थियो। त्यसपछि नेपाली भन्सार एजेन्टले प्रत्यक्ष रूपमा सेवा दिने वातावरण बन्न थालेको भए पनि अभियानले निरन्तरता नपाउँदा अवस्था फेरि पुरानै अवस्थामा पुगेको छ।
“सुरुमा प्रशासनले कडा अडान लिएको थियो। त्यसले सकारात्मक सन्देश दिएको थियो। तर पछि त्यो अडान कायम रहन सकेन। अहिले फेरि बिचौलियाको प्रभाव बढेको छ।”
भन्सार क्षेत्रमा कार्यरत एजेन्टहरूको अनुसार भैरहवा भन्सारमा नेपाली र भारतीय दुवै पक्षका ठूलो सङ्ख्यामा अनधिकृत बिचौलिया सक्रिय छन्। उनीहरूले भन्सार प्रक्रिया प्रभावित पार्ने, सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क गर्ने तथा वैध भन्सार एजेन्टको व्यवसायसमेत प्रभावित बनाउने गरेको उनीहरूको आरोप छ।
यसबारे प्रतिक्रिया दिँदै भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले भन्सारलाई व्यवस्थित र पारदर्शी बनाउने प्रयास गरिएको स्वीकार गर्नुभयो।
उहाँले भन्नुभयो, “हामीले अनधिकृत बिचौलियाको प्रभाव कम गर्ने उद्देश्यले केही सुधारका प्रयास गरेका थियौँ। तर सीमापारको समन्वय, विभिन्न व्यावहारिक चुनौती र आन्तरिक व्यवस्थापनका कारण अपेक्षित सफलता प्राप्त गर्न सकिएन। सुधारको प्रयास भने रोकिएको छैन।”
नेपाल भन्सार एजेन्ट महासंघका अध्यक्ष प्राचीन थैबलले देशभरका भन्सार कार्यालयलाई बिचौलियामुक्त बनाउने नीति कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “वैध भन्सार एजेन्टलाई मात्रै काम गर्ने वातावरण हुनुपर्छ। अनधिकृत बिचौलियाको प्रभाव अन्त्य गर्न सरकारले एकीकृत नीति ल्याउन आवश्यक छ।”
भन्सार प्रशासनले भने कुनै पनि राजस्व चुहावट, भन्सार महसुलमा अनियमितता वा कर्मचारीको संलग्नतासम्बन्धी आरोप पुष्टि भएको अवस्थामा कानुनअनुसार कारबाही गरिने जनाएको छ। भन्सार कार्यालयले सेवा प्रवाहलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउने काम जारी रहेको पनि जनाएको छ।
व्यापारिक नाकाका रूपमा रणनीतिक महत्व बोकेको भैरहवा भन्सारबाट वार्षिक रूपमा एक खर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन हुने भएकाले यहाँको सेवा प्रणाली पारदर्शी, जवाफदेही र बिचौलियारहित हुनुपर्ने माग व्यवसायी, भन्सार एजेन्ट तथा सरोकारवालाले गर्दै आएका छन्।