logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    विभागको निर्देशन मानेन भैरहवा भन्सारले


    २० साउन २०८३ , बुधबार

    विभागको निर्देशन मानेन भैरहवा भन्सारले

    लुम्बिनीखबर
    भैरहवा, २० साउन । मुलुकको दोस्रो ठूलो भन्सार नाका भैरहवा भन्सार कार्यालयमा भारतीय ट्रान्सपोर्ट कम्पनी र भारतीय बिचौलियाको प्रभाव बढ्दै गएको भन्दै इजाजतप्राप्त नेपाली भन्सार जाँचपास प्रतिनिधिहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार कानुनले जाँचपास प्रतिनिधिलाई मात्र अधिकार दिएको भए पनि व्यवहारमा अनधिकृत व्यक्तिको सक्रियता अझै नियन्त्रण हुन सकेको छैन।

    नेपाल भन्सार एजेन्टहरूको दाबीअनुसार भन्सार जाँचपाससम्बन्धी अधिकांश काम भारतीय ट्रान्सपोर्ट कम्पनीसँग आबद्ध व्यक्तिहरूले गर्ने गरेका छन्। इजाजतप्राप्त नेपाली एजेन्टहरू भने नाममा मात्रै सीमित हुने र वास्तविक काम अन्य व्यक्तिबाट हुने गरेको उनीहरूको भनाइ छ।

    एजेन्टहरूको आरोपअनुसार कार्यालयमा नेपाली एजेन्टले प्रक्रिया अघि बढाउँदा विभिन्न कारण देखाएर ढिलाइ हुने गरेको छ भने भारतीय ट्रान्सपोर्ट कम्पनीसँग सम्बन्धित प्रतिनिधिबाट पेश भएका फाइल छिटो टुंगिने गरेको अनुभव उनीहरूले सुनाएका छन्। यसले वैधानिक रूपमा काम गर्ने नेपाली एजेन्टहरू प्रतिस्पर्धाबाट पछि परेको उनीहरूको दाबी छ।

    नेपालको प्रचलित भन्सार कानुनअनुसार भन्सार जाँचपास कार्य इजाजतप्राप्त प्रतिनिधिबाट मात्र हुनुपर्ने व्यवस्था भए पनि व्यवहारमा त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ।

    भन्सार एजेन्टहरूले भैरहवा नाकामा केही भारतीय ट्रान्सपोर्ट कम्पनीहरूले आयात–निर्यात प्रक्रियामा उल्लेख्य प्रभाव जमाएको आरोप लगाएका छन्। उनीहरूका अनुसार धेरै इजाजतप्राप्त एजेन्ट काठमाडौं, पोखरा लगायत अन्य स्थानमा बस्ने र मासिक रूपमा हस्ताक्षर गर्न मात्रै आउने गरेको अवस्थामा दैनिक जाँचपाससम्बन्धी काम ट्रान्सपोर्ट कम्पनीका प्रतिनिधिले सञ्चालन गर्ने अभ्यास विकसित भएको छ।

    एजेन्टहरूको भनाइमा यसले भन्सार जाँचपास प्रणालीको पारदर्शिता, जवाफदेहिता र राजस्व सुरक्षामै प्रश्न उठाएको छ। उनीहरूले अनधिकृत व्यक्तिको संलग्नता तत्काल रोक्न र इजाजतप्राप्त एजेन्ट स्वयं उपस्थित भएर मात्र जाँचपास प्रक्रिया सञ्चालन हुने व्यवस्था कडाइका साथ लागू गर्न माग गरेका छन्।

    यसैबीच, भन्सार विभागले हालै सबै भन्सार कार्यालयलाई पत्राचार गर्दै अनुसूची–२७ बमोजिम नियुक्त भएका इजाजतप्राप्त भन्सार जाँचपास प्रतिनिधिबाहेक अन्य कुनै पनि अनधिकृत व्यक्तिलाई जाँचपास कार्यमा संलग्न नगराउन निर्देशन दिएको छ। विभागले यसको कार्यान्वयनको प्रगति विवरणसमेत माग गरेको छ।

    यता, भैरहवा भन्सार कार्यालयले भने नेपाल–भारत व्यापार सहजीकरणलाई असर नपर्ने गरी कानुनबमोजिम व्यवस्था कार्यान्वयन गर्ने जनाएको छ। कार्यालयका प्रमुख हरिहर पौडेलले यसअघि पनि अनधिकृत बिचौलियाको प्रभाव न्यूनीकरण गर्ने प्रयास भएको र विभागीय निर्देशनअनुसार प्रक्रिया थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.