logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    रोहिणी वडा नं. ५ मा २७१ जनालाई गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण


    २२ साउन २०८३ , शुक्रबार

    रोहिणी वडा नं. ५ मा २७१ जनालाई गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण

    पशुपति यादव/लुम्बिनीखबर
    रोहिणी, २२ साउन । रूपन्देहीको रोहिणी गाउँपालिका वडा नं. ५ का २७१ जनालाई गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ।


    गाउँपालिकाले वडा नं. ५ को पिपरहावामा आयोजना गरेको कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले गाउँ ब्लकको जग्गा भोगचलन गर्दै आएका परिवारलाई जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण गर्नुभयो।
    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले रोहिणीको समग्र विकासका लागि आफू अघि बढेको बताउँदै स्वास्थ्य, शिक्षा, खानेपानी, बाटोघाटो र डुबान क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो।
    रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले पुस्तौँदेखि भोगचलन गर्दै आएको गाउँ ब्लक जग्गाको जग्गाधनी प्रमाणपुर्जा दिलाउन पालिकाले निरन्तर पहल गर्दै आएको बताउनुभयो। वडा जनप्रतिनिधि, कर्मचारी र नापी कार्यालयका कर्मचारीको सक्रियताका कारण गाउँ ब्लक जग्गाको लालपुर्जासहितको कानुनी अधिकार दिलाउन सम्भव भएको उहाँको भनाइ थियो।
    उपाध्यक्ष शिव कान्ति हरिजनले गाउँ ब्लक जग्गाको प्रमाणपुर्जासहितको कानुनी अधिकार लाभग्राहिलाई दिलाउन स्थानीय सरकारको भूमिका र सबैको सहयोगले सफलता मिलेको बताउनुभयो।
    नापी कार्यालय रूपन्देहीका प्रमुख मनिप्रसाद रेग्मीका अनुसार २७१ परिवारलाई गाउँ ब्लकको जग्गा वितरण गरिएको हो। रोहिणीमा गाउँ ब्लक जग्गाको नापजाँच जारी छ र लालपुर्जा वितरणको कार्य प्रगतिमा रहेको उहाँले जानकारी दिनुभयो। नाप नक्सा, फिल्ड प्रमाणीकरण तथा आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि लालपुर्जा वितरण गरिएको उहाँले स्पष्ट पार्नुभयो।
    रेग्मीले गाउँ ब्लक जग्गामा कानुनी अधिकार प्राप्त भएसँगै जग्गाधनीको जीवनमा परिवर्तन आउने विश्वास व्यक्त गर्दै नापजाँच, अभिलेख वा प्राविधिक कारणले लालपुर्जा प्राप्त गर्न नसकेका व्यक्तिलाई आवश्यक कागजातसहित रोहिणी गाउँपालिकामा सञ्चालनमा रहेको अस्थायी कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो।
    लाभार्थी स्थानीय सनेही कुर्मीले पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व प्राप्त भएपछि खुसी लागेको बताउनुभयो। लालपुर्जा पाएसँगै बैंकिङ कारोबार तथा अन्य कानुनी प्रयोजनका लागि सहज हुने उहाँको भनाइ थियो।
    कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष घनश्याम सिंह क्षेत्री, वडा नं. ६ का इन्द्रमान चौधरी, नापी कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो। प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.