logo
  • १ भाद्र २०८३ , सोमबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटनको विस्तार हुँदै


    २५ साउन २०८३ , सोमबार

    लुम्बिनीमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटनको विस्तार हुँदै

    लुम्बिनीखबर
    भैरहवा , २५ साउन । लुम्बिनी प्रदेशमा धार्मिक तथा प्राकृतिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन गर्ने अभियान सुरु भएको छ। बुद्ध जन्मस्थल लुम्बिनी आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाइ लम्ब्याउने र पर्यटन सेवामा नयाँ आयाम थप्ने उद्देश्यले वेलनेस तथा आरोग्यसम्बन्धी सेवा विस्तार गर्न थालिएको हो।

    अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणपत्र प्राप्त ट्रान्क्विलिटी स्पा प्रालिले लुम्बिनी क्षेत्रलाई केन्द्रमा राखेर आरोग्य पर्यटनसम्बन्धी सचेतना तथा प्रवद्र्धनात्मक अभियान अघि बढाएको जनाएको छ। कम्पनीले भैरहवामा पर्यटन व्यवसायी तथा ट्राभल एजेन्सीका प्रतिनिधिसँग कार्यक्रम गरी आरोग्य पर्यटनको सम्भावना, सेवा तथा पर्यटकलाई उपलब्ध गराउन सकिने वेलनेस प्याकेजबारे जानकारी गराएको छ।

    ट्रान्क्विलिटी स्पाका लुम्बिनी प्रदेश क्षेत्रीय निर्देशक नवीन थापाले लुम्बिनीमा आउने धार्मिक पर्यटकलाई आध्यात्मिक अनुभवसँगै शारीरिक तथा मानसिक विश्रामको सेवा उपलब्ध गराउन सके आरोग्य पर्यटनको नयाँ बजार विस्तार गर्न सकिने बताउनुभयो।

    उहाँका अनुसार लुम्बिनी, भैरहवा, बुटवललगायत क्षेत्रमा स्तरीय होटल तथा पर्यटन पूर्वाधार विस्तार भइरहेकाले योग, ध्यान, मसाज, हाइड्रोथेरापी, स्टिम बाथ, बडी स्क्रब, फिटनेस तथा अन्य आरोग्य सेवासहितका पर्यटन प्याकेज सञ्चालन गर्न सकिने सम्भावना छ।

    “लुम्बिनीमा धार्मिक तथा आध्यात्मिक उद्देश्यले आउने पर्यटकको संख्या उल्लेख्य छ । उनीहरूको बसाइलाई आरोग्य सेवासँग जोड्न सके पर्यटनको नयाँ उत्पादन विकास गर्न सकिन्छ,” थापाले भन्नुभयो, “धार्मिक पर्यटक मात्र होइन, प्राकृतिक वातावरणमा आराम र मानसिक शान्ति खोज्ने पर्यटकलाई समेत लक्षित गरेर आरोग्य पर्यटनको अभियान अघि बढाउन आवश्यक छ।”

    उहाँले लुम्बिनीको आध्यात्मिक वातावरण, नजिकैको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भारतसँगको स्थलमार्ग र विस्तार हुँदै गएको होटल पूर्वाधार आरोग्य पर्यटनका लागि महत्वपूर्ण आधार भएको बताउनुभयो।

    होटल एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले पर्यटनको परम्परागत ढाँचाबाट माथि उठेर आरोग्य तथा वेलनेस सेवासँग पर्यटनलाई जोड्नुपर्ने बताउनुभयो। उहाँका अनुसार नेपालमा आरोग्य पर्यटनको महत्व बढ्दै गएको अवस्थामा लुम्बिनी प्रदेशले यसको नेतृत्व गर्न सक्ने सम्भावना छ।

    “लुम्बिनी आउने पर्यटकलाई केवल धार्मिक स्थलको भ्रमण गराएर फर्काउनेभन्दा उनीहरूको स्वास्थ्य, आराम र मानसिक शान्तिसँग जोडिएको सेवा दिन सके बसाइ पनि लम्बिन्छ र पर्यटनबाट हुने आम्दानी पनि बढ्छ,” श्रेष्ठले भन्नुभयो।

    उहाँले भारतलगायत छिमेकी मुलुकका पर्यटकमा स्पा, योग, प्राकृतिक उपचार तथा वेलनेस सेवाप्रतिको आकर्षण बढ्दै गएकाले लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको आरोग्य पर्यटन पूर्वाधार विकास गर्न निजी क्षेत्रले लगानी बढाउनुपर्ने बताउनुभयो।

    नेपाल एसोसिएसन अफ ट्राभल एजेन्सिज ९नाटा० का सदस्य चन्द्र थापाले आरोग्य पर्यटनलाई नियमित पर्यटकीय प्याकेजसँग जोड्न सके नेपालमा पर्यटकको बसाइ र खर्च दुवै बढाउन सकिने बताउनुभयो।

    उहाँका अनुसार ट्राभल एजेन्सीहरूले लुम्बिनी भ्रमण, ध्यान, योग, प्रकृति अवलोकनसँगै स्पा तथा अन्य आरोग्य सेवासहितका प्याकेज निर्माण गर्न सके पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ।

    “आरोग्य पर्यटनलाई छुट्टै क्षेत्रका रूपमा मात्र हेर्नुभन्दा धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनसँग जोडेर अघि बढाउनुपर्छ,” थापाले भन्नुभयो, “यस्तो प्याकेज विकास गर्न सके नेपालमा आउने पर्यटकको बसाइ बढ्नुका साथै नयाँ पर्यटकीय बजारसमेत निर्माण हुन्छ।”

    ट्रान्क्विलिटी स्पाले काठमाडौंमा सेवा सुरु गरेपछि पोखरा र चितवन हुँदै भैरहवामा सेवा विस्तार गरेको जनाएको छ। कम्पनीले लुम्बिनी क्षेत्रमा पर्यटन व्यवसायी तथा ट्राभल एजेन्सीसँग सहकार्य गर्दै आरोग्य सेवासहितका पर्यटन प्याकेज विकास गर्ने तयारी गरेको जनाएको छ।

    कम्पनीका अनुसार पर्यटकलाई गुणस्तरीय मसाज, हाइड्रोथेरापी, स्टिम बाथ, बडी स्क्रब, योग, ध्यान तथा फिटनेसजस्ता सेवा उपलब्ध गराउन सकिनेछ। धार्मिक तथा प्राकृतिक गन्तव्यको भ्रमणपछि थकान हटाउन र शारीरिक तथा मानसिक पुनर्ताजगीका लागि यस्ता सेवालाई पर्यटन प्याकेजमा समावेश गर्न सकिने कम्पनीको भनाइ छ।

    कार्यक्रममा मापदण्डविपरीत सञ्चालन भइरहेका केही स्पा तथा मसाज केन्द्रका कारण समग्र व्यवसायको छविमा असर परेको विषयमा समेत छलफल भएको थियो। दक्ष जनशक्ति, स्वास्थ्य सुरक्षा र निर्धारित मापदण्डबिना सञ्चालन हुने व्यवसायलाई नियमन गर्दै गुणस्तरीय स्पा सेवाको विकास गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए।

    लुम्बिनीको धार्मिक तथा आध्यात्मिक पर्यटन, भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलको व्यावसायिक गतिविधि तथा क्षेत्रका स्तरीय होटललाई आरोग्य पर्यटनसँग जोड्न सके लुम्बिनी प्रदेशमा नयाँ पर्यटकीय उत्पादन विकास गर्न सकिने व्यवसायीहरूको भनाइ छ।

    प्राकृतिक उपचार, योग, ध्यान, आयुर्वेद, स्पा तथा मानसिक र शारीरिक विश्रामसँग सम्बन्धित सेवाको विस्तारसँगै आरोग्य पर्यटनलाई प्रदेशको पर्यटन अर्थतन्त्रको नयाँ आधारका रूपमा विकास गर्न सकिने देखिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.