logo
  • १ भाद्र २०८३ , सोमबार
    • ट्रेन्डिङ

    लुम्बिनी प्रदेशमा डुबेर मृत्यु हुने बढे, चार महिनामै ६० जनाको ज्यान गयो


    ३१ साउन २०८३ , आइतबार

    लुम्बिनी प्रदेशमा डुबेर मृत्यु हुने बढे, चार महिनामै ६० जनाको ज्यान गयो

    लुम्बिनीखबर
    भैरहवा,३१ साउन । लुम्बिनी प्रदेशका ताल, तलैया, खोला र नदीमा डुबेर ज्यान गुमाउनेको संख्या बढिरहेको छ । प्रत्येक वर्ष वर्षातका बेला यस्ता घटना बृद्धि हुने गरेका छन् । यसरी डुबेर ज्यान गुमाउनेमा अधिकांश बालबालिका छन् ।
    पछिल्लो चार महिनामा प्रदेशमा ५ सय ५३ वटा विपदका घटना भएका थिए । तिनमा परेर ९० जनाको मृत्यु भएको छ । यी मध्ये ६० जनाको पानीमा डुबेर मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।
    लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार ४ जना अझै बेपत्ता छन् । मृत्यु भएका ६० मध्ये २३ जना बालबालिका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार रुपन्देहीमा पछिल्लो ३ महिनामा १ महिलासहित २ बालबाकिाको पानीमा डुबेर मत्यु भएको छ । पछिल्लो घटना अनुसार असार २६ गते तिलोत्तमा नगरपालिका–७ का १५ वर्षीय प्रज्ञा गौतमको माछा पाल्न निर्माण गरिएको पोखरीमा डुबेर मृत्यु भयो ।
    साँझ ६ बजेको आसपासमा डुबेका उनलाई राती ९ बजेमात्र पोखरीबाट निकालिएको थियो । जेठ ३ गते बुटवल उपमहानगरपालिका–१ का १८ वर्षीय उमाकान्त चौधरीको पनि पौडी खेल्ने क्रममा तिनाउ खोलामा डुबेर मृत्यु भएको थियो ।
    इलाका प्रहरी कार्यालय बटवलका प्रहरी निरीक्षक थम्मन जिसीका अनुसार गर्मी अत्यधिक बढेपछि साथीसँग खोला, नहर र पोखरीमै पौडी खेल्ने क्रममै डुबेर मृत्यु हुने गरेका घटना बढी छन् । ‘खासगरी ११–१२ वर्षभन्दा माथिको उमेर समूहका बालबालिकाहरु मिलेर गर्मी छल्न पौडी खेल्न जाने र खोला, नहर र पोखरीको गहिराइको जानकारी नहुँदा डुबेर मृत्यु हुने गरेको देखिएको छ,’ उनले भने, ‘मृत्यु हुनेमा मजदुर, विपन्न परिवार र अभिभावक घरमा नहुने परिवारका बालबालिका बढी देखिने गरेका छन् ।’
    रुपन्देहीमा मात्र गत आर्थिक वर्षमा ९ पुरुष र ८ बालबालिकाको पानीमा डुबेर मृत्यु भएको थियो । त्यस मध्ये ७ बालक र १ बालिका रहेको प्रहरी निरीक्षक जिसीले बताए । लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालयका विपद् व्यवस्थापन शाखाका अनुसार लुम्बिनी प्रदेशमा गत आवमा विपदका १ हजार ८ सय ३७ वटा घटना भएका थिए । ति घटनाबाट २ सय ९७ जनाको मृत्यु भएको थियो । २ सय १२ वटा पानीमा डुबेका घटनाबाट १ सय ९० जनाको मृत्यु भएको थियो ।
    १४ जना अहिलेसम्म पनि बेपत्ता छन । त्यस्तै चालु आवको बैशाखदेखि साउन १० गतेसम्म भएका विपदका ५ सय ५३ घटनामा ९० जनाको मृत्यु भएको छ । ति मध्ये पानीमा डुबेर भएका ७३ वटा घटनामा ६० जनाको मृत्यु भएको र ४ जना अझै बेपत्ता रहेको लुम्बिनी प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रका सशस्त्र प्रहरी हवल्दार हुमनाथ पाण्डेले बताए ।
    ‘प्रदेश भरीका घटनामा पनि तराईका जिल्लामा पौडी खेल्ने क्रममै धेरै बालबालिका डुब्ने गरेको घटना देखिएका छन्,’ उनले भने, ‘गत आवमा भएका घटनामा पौडी खेल्ने क्रममै डुबेर मृत्यु हुने बालबलिकाको संख्या ७० भन्दा बढी थियो ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.