लुम्बिनीखबर
काठमाडौं, १४ भदौ । कर्तव्य पालनाका क्रममा रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका प्रहरी चौकी टिमुरे, रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) रामहरि खड्काप्रति नेपाल प्रहरीले श्रद्धाञ्जली अर्पण गरेको छ।
पशुपति आर्यघाटमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्वर्गीय प्र।स।नि। खड्काको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरसहित नेपाल प्रहरीका उच्च प्रहरी अधिकारी तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति थियो।
श्रद्धाञ्जली कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले कर्तव्य पालनाका क्रममा संगठनका एक सदस्य गुमाउनु पर्दा नेपाल प्रहरी परिवार मर्माहत भएको बताउनुभयो। उहाँले विपद्को समयमा जनताको जीवनरक्षा र उद्धारलाई सर्वोच्च प्राथमिकतामा राख्दै प्रहरी कर्मचारीहरू आफ्नै ज्यानको पर्वाह नगरी सेवामा खटिनुपर्ने जिम्मेवारी रहेको उल्लेख गर्नुभयो।
उहाँले स्वर्गीय खड्काले कर्तव्य पालनाका क्रममा देखाउनुभएको साहस, समर्पण र सेवाभाव नेपाल प्रहरीका लागि सदैव स्मरणीय रहने बताउँदै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। विपद्का बीच नेपाल प्रहरीले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिँदै आएको छ।
बाढीका कारण नेपाल प्रहरीका २५ जना कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। बाढीले केही प्रहरी चौकीसमेत बगाएको छ।