logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    सिद्धार्थनगरमा कृषि मल र बीउ वितरणमा राजनीतिकरणको आरोप, कृषक मर्कामा


    १६ भाद्र २०८३ , मंगलबार

    सिद्धार्थनगरमा कृषि मल र बीउ वितरणमा राजनीतिकरणको आरोप, कृषक मर्कामा

    लुम्बिनीखबर
    भैरहवा, १६ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा कृषि मल, बीउ तथा अन्य कृषि सामग्री वितरणमा राजनीतिकरण हुने गरेको आरोप स्थानीय कृषकहरूले लगाएका छन् । नगरपालिकाका विभिन्न वडामा कृषि क्षेत्र रहे पनि राजनीतिक पहुँच र स्थानीय जनप्रतिनिधिको निर्णयका कारण वास्तविक कृषकहरू सरकारी सुविधाबाट वञ्चित हुनुपरेको उनीहरूको गुनासो छ ।विशेषगरी सिद्धार्थनगर नगरपालिका–१३ का कृषकहरू कृषि मल तथा बीउ वितरणमा विभेद भएको भन्दै असन्तुष्ट बनेका छन् । वडा नम्बर १३ का सूर्यपथ बसपार्क पछाडिको क्षेत्र, सुसंस्कृत विद्यापीठ आसपासलगायतका भूभागमा लामो समयदेखि कृषि उत्पादन हुँदै आए पनि उक्त क्षेत्रलाई कृषि क्षेत्र नरहेको भन्दै केही समय मल तथा बीउ वितरणमा रोक लगाइएको कृषकहरूको भनाइ छ ।

    स्थानीय कृषक रेमसेन ठकुरीले आफ्नै घर तथा छिमेक आसपास ठूलो क्षेत्रफलमा कृषि उत्पादन हुँदै आएको अवस्थामा नगरपालिकाले कृषि क्षेत्र नभएको भन्दै मल तथा बीउ वितरणमा रोक लगाउनु अन्यायपूर्ण भएको बताउनुभयो ।“मेरो घर पछाडिको क्षेत्र नै कृषि क्षेत्र हो । मेरा छिमेकीहरू पनि कृषक हुनुहुन्छ । यहाँ अहिले पनि खेती भइरहेको छ । तर कृषि क्षेत्र होइन भनेर मल वितरण रोकिएपछि हामी वास्तविक कृषकहरू समस्यामा परेका छौँ,” उहाँले भन्नुभयो ।

    ठकुरीले कृषि सामग्री वितरणजस्तो कृषकसँग प्रत्यक्ष जोडिएको विषयमा राजनीतिक हस्तक्षेप नगर्न जनप्रतिनिधिसँग आग्रह गर्नुभयो । जनप्रतिनिधिको राजनीतिक विवादको असर कृषकमाथि पर्न नहुने उहाँको भनाइ छ ।“कृषकका लागि यति धेरै राजनीति नगरियोस् । जनप्रतिनिधिहरूको राजनीतिक विवादका कारण कृषकले दुःख पाउनु हुँदैन । सञ्चारमाध्यममार्फत हाम्रो समस्या सम्बन्धित निकायसम्म पु¥याइदिन आग्रह गर्दछौँ,” उहाँले भन्नुभयो ।

    यस विषयमा सिद्धार्थनगर नगरपालिका–१३ का वडाध्यक्ष सोमबहादुर गुरुङले भने वडा क्षेत्रको कृषि अवस्थाबारे कृषि शाखाले अनुगमन गरिसकेको र वडा नम्बर १३ मा कृषि क्षेत्र रहेको प्रमाणित भएको बताउनुभयो ।उहाँका अनुसार कृषि मल तथा बीउ वितरणका विषयमा केही विषय कार्यपालिकामा समेत छलफल भएको थियो । कृषि शाखाको अनुगमनपछि देखिएका वास्तविक कृषि क्षेत्रका विषयमा रहेका भ्रमसमेत हटेको उहाँले बताउनुभयो ।

    “कृषि शाखाले अनुगमन गरेको छ । हाम्रो वडा नम्बर १३ को केही क्षेत्र कृषि क्षेत्र रहेको प्रमाणित भइसकेको छ । त्यसैले यस विषयमा रहेका केही भ्रमहरू चिरिएका छन् । निकट भविष्यमा कृषकलाई आवश्यक मल वितरणको व्यवस्था हुन्छ,” वडाध्यक्ष गुरुङले भन्नुभयो ।कृषकलाई मल वितरणमा राजनीतिकरण भएको हो भन्ने प्रश्नमा उहाँले जनप्रतिनिधिबीच छलफल भए पनि विषयलाई छलफलबाट समाधान गरिएको दाबी गर्नुभयो । “राजनीति गर्न खोजिएको हुन सक्छ, तर हामीले छलफलबाट यसलाई टुङ्ग्याएका छौँ । हामी सबै जनप्रतिनिधि कृषकको पक्षमा छौँ । कृषकका लागि राजनीति गर्दैनौँ, यो हाम्रो प्रतिबद्धता हो,” उहाँले भन्नुभयो ।

    सिद्धार्थनगर नगरपालिकाका कृषि शाखा प्रमुख योगेन्द्र यादवले पनि वडा नम्बर १३ मा कृषि क्षेत्र रहेको र त्यहाँका कृषकबाट मल तथा बीउको माग आउने गरेको जानकारी दिनुभयो । कृषि शाखाले स्थलगत अनुगमन तथा मूल्याङ्कनका आधारमा कृषि क्षेत्र पहिचान गर्ने गरेको उहाँको भनाइ छ ।नगरपालिकाको ठूलो भूभाग कृषि उत्पादनसँग जोडिएको भए पनि कृषि सामग्री वितरणमा देखिने विवाद र राजनीतिक हस्तक्षेपका कारण वास्तविक कृषक प्रभावित हुन नहुने स्थानीयको माग छ । कृषि उत्पादन बढाउने उद्देश्यले राज्यले उपलब्ध गराउने मल, बीउ तथा अन्य अनुदान वास्तविक कृषकसम्म पारदर्शी र निष्पक्ष रूपमा पुग्नुपर्ने उनीहरूको भनाइ छ ।

    कृषकहरूले कृषि सामग्री वितरणको मापदण्ड स्पष्ट पार्दै राजनीतिक पहुँचभन्दा वास्तविक खेतीयोग्य क्षेत्र र कृषकको पहिचानका आधारमा सुविधा उपलब्ध गराउन नगरपालिकासँग माग गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.