लुम्बिनीखबर
भैरहवा, भदौ । रुपन्देही जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद तथा जरिवाना सजाय भई हालसम्म फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले फैसला कार्यान्वयन गर्ने क्रममा रुपन्देहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिका–३ रमवापुरका लालबहादुर थारु रहेका छन्। बैंकिङ कसुर मुद्दामा उनलाई १ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
त्यस्तै, शुद्धोधन गाउँपालिका–५ मानपकडीका दुर्गाप्रसाद अर्याल चेक अनादर मुद्दामा ३ हजार रुपैयाँ जरिवाना, लुम्बिनी सांस्कृतिक नगरपालिका–८ का सुभाष यादव सवारी ज्यान मुद्दामा १ हजार रुपैयाँ जरिवाना तथा शुद्धोधन गाउँपालिका–८ का माधवप्रसाद वाकर थारू बैंकिङ कसुर मुद्दामा ६३ हजार २५० रुपैयाँ जरिवाना तोकिएका प्रतिवादी हुन्।
यसैगरी, सिद्धार्थनगर नगरपालिका–३ का अर्जुनप्रसाद तेली चेक अनादर मुद्दामा १ हजार रुपैयाँ र गुल्मी रेसुङ्गा नगरपालिका–६ घर भई हाल बुटवल उपमहानगरपालिका–११ बस्दै आएका गणेश खत्री चेक अनादर मुद्दामा १ हजार ५०० रुपैयाँ जरिवाना तोकिएका प्रतिवादी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरू फैसला कार्यान्वयन हुन बाँकी रहेका फरार प्रतिवादी हुन्। जिल्ला अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।