लुम्बिनीखबर
भैरहवा, १६ भदौ । प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रुपन्देही उद्योग संघले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ लाख ११ हजार १११ रुपैयाँ सहयोग रकम जम्मा गरेको छ।
विपद्का समयमा राज्यको राहत तथा उद्धार अभियानमा निजी क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने भन्दै संघले आफ्नो तर्फबाट उक्त सहयोग रकम प्रदान गरेको हो। बाढी, पहिरो, डुबान, आगलागी लगायतका विभिन्न प्राकृतिक तथा दैवीप्रकोपबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले रकम कोषमा जम्मा गरिएको संघले जनाएको छ।
रुपन्देहीमा उद्योग तथा व्यवसायको क्षेत्रमा क्रियाशील उद्योगी–व्यवसायीहरूको साझा संस्थाका रूपमा रहेको संघले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यलाई समेत प्राथमिकता दिँदै आएको बताएको छ। विपद्को समयमा प्रभावित परिवारलाई राहत उपलब्ध गराउनुका साथै उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग जुटाउन निजी क्षेत्रले पनि हातेमालो गर्नुपर्ने संघको धारणा छ।
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त रकमले विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा केही हदसम्म भए पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ। संघले विपद्का समयमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै सहयोग गरेको जनाएको छ।संघले उद्योगी–व्यवसायीलाई व्यवसाय सञ्चालन र आर्थिक गतिविधिमा मात्र सीमित नरही समाजप्रतिको दायित्व निर्वाह गर्न पनि आग्रह गर्दै आएको छ। विपद् तथा संकटका बेला सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था र आम नागरिकबीच सहकार्य आवश्यक रहेको संघको भनाइ छ।
रुपन्देही उद्योग संघले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक, मानवीय तथा जनहितका कार्यमा सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ। संघका अनुसार विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत र पुनःस्थापनामा सहयोग पुर्याउनु सबैको साझा जिम्मेवारी भएकाले निजी क्षेत्रबाट पनि सक्दो सहयोग हुन आवश्यक छ।