लुम्बिनीखबर
भैरहवा, १७ भदौ । भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि न्यू होराइजन इङ्गलिश बोर्डिङ सेकेण्डरी स्कुल, बुटवलले रु ९ लाख १८ हजार ६६० सहयोग गरेको छ।विद्यालयका तर्फबाट रु ५ लाख ५५ हजार ५५५, शिक्षक तथा कर्मचारीबाट रु २ लाख ५२ हजार र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद कसजूबाट रु १ लाख ११ हजार १०५ गरी संकलित कुल रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंगलबार जम्मा गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका प्राचार्य वासुदेव अर्यालले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सामाजिक उत्तरदायित्व भएको बताउँदै विद्यालय परिवारले मानवीय दायित्वबोधका साथ सहयोग गरेको जानकारी दिनुभयो।उहाँले बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय, शिक्षक, कर्मचारी तथा व्यवस्थापन समितिको सहभागितामा रकम संकलन गरी कोषमा जम्मा गरिएको बताउनुभयो।
विद्यालयले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।