लुम्बिनीखबर
भैरहवा, १७ भदौ । नेपाल भन्सार एजेन्ट संघ भैरहवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु १ लाख ११ हजार १ सय ११ सहयोग गरेको छ । संघका अध्यक्ष मधु पन्थीले भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेललाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो। नेपालमा हुने विभिन्न विपद्का समयमा जनसहभागिता र सहयोगका लागि अग्रपंक्तिमा रहँदै आएको संघले यस वर्ष पनि विपद् वाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सहयोग गरेको पूर्वकेन्द्रीय अध्यक्ष डा। शान्तकुमार शर्माले बताउनुभयो।
उहाँले भन्सार एजेन्ट संघ भैरहवा विगतदेखि नै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विपद्का समयमा सहयोगमा अग्रसर हुँदै आएको उल्लेख गर्नुभयो।
संघ सिद्धार्थनगरका पूर्वअध्यक्ष असिम न्यौपानेले नेपाल भन्सार एजेन्ट संघ आफ्ना सदस्यसँगै देश र जनताको पक्षमा सदैव उभिँदै आएको बताउनुभयो। देशमा आपत् पर्दा सहयोगका लागि अग्रपंक्तिमा रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आवश्यक परे आगामी दिनमा थप सहयोग गर्न संघ तयार रहेको बताउनुभयो।