logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    प्रहरी महानिरीक्षक कार्कीबाट बाढी प्रभावित जिल्लाको स्थलगत अनुगमन


    २१ भाद्र २०८३ , आइतबार

    प्रहरी महानिरीक्षक कार्कीबाट बाढी प्रभावित जिल्लाको स्थलगत अनुगमन

    लुम्बिनीखबर

    भैरहवा, २१ भदौ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट, रसुवा लगायतका जिल्लाको शुक्रबार स्थलगत अनुगमन तथा अवलोकन गर्नुभएको छ। अनुगमनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीले सञ्चालन गरिरहेको खोज तथा उद्धार, शव व्यवस्थापन, घटनास्थल मुचुल्का, राहत वितरण तथा पुनःस्थापनालगायतका कार्यको अवस्थाबारे जानकारी लिनुभएको थियो।

    उहाँले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिसँग भेट गरी खोज तथा उद्धार, राहत वितरण, सुरक्षा व्यवस्थापन र विपद् प्रतिकार्यलाई थप प्रभावकारी, व्यवस्थित तथा पारदर्शी बनाउने विषयमा छलफल गर्नुभएको नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। प्रहरी महानिरीक्षक कार्कीले विपद्को कठिन घडीमा राष्ट्र र नागरिकको सेवामा उच्च मनोबलका साथ खटिन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ। खोज तथा उद्धार कार्यमा आफ्नो ज्ञान, सीप, विवेक र क्षमताको उच्चतम् प्रयोग गरी नागरिकको जीवनरक्षा र सुरक्षामा कुनै कसर बाँकी नराख्न उहाँले निर्देशन दिनुभयो।

    बाढी प्रभावित क्षेत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुनसक्ने दुर्व्यवहार, हिंसा तथा अन्य जोखिमप्रति थप संवेदनशील भएर काम गर्न उहाँले प्रहरी कर्मचारीलाई आग्रह गर्नुभएको छ। विपद्को मौका छोपी हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी प्रहरी परिचालन गर्न तथा स्थानीय तहसँग आवश्यक समन्वय गरी राहत वितरणलाई पारदर्शी बनाउनसमेत उहाँले निर्देशन दिनुभयो।

    नेपाल प्रहरी अहिले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापन, पुनःस्थापना तथा सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राखेर परिचालन भइरहेको छ। प्रभावित नागरिकको उद्धार तथा आवश्यक सहयोगका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय गरी काम भइरहेको नेपाल प्रहरीको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले जानकारी दिएको छ।

    प्रहरी महानिरीक्षक कार्कीले विपद् प्रभावित नागरिकको जीवनरक्षा तथा सार्वजनिक सुरक्षालाई उच्च प्राथमिकतामा राखी संगठनले गर्नुपर्ने कार्यमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको स्थानीयहरूले बताएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.