logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    बाढीका घाइतेको उपचारमा रगतको अभाव हुन नदिन रक्तदान


    २२ भाद्र २०८३ , सोमबार

    बाढीका घाइतेको उपचारमा रगतको अभाव हुन नदिन रक्तदान

    लुम्बिनीखबर
    भैरहवा, २२ भदौ । रसुवालगायतका क्षेत्रमा आएको बाढीबाट घाइते भएकाहरूको उपचारमा रगतको अभाव हुन नदिन मारवाडी युवा मञ्च, भैरहवाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। बाढीबाट घाइते भई अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक रगत सहज रूपमा उपलब्ध गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले मञ्चले आइतबार भैरहवामा खुला रक्तदान कार्यक्रम गरेको हो।

    मारवाडी सेवा संघ, भैरहवाको परिसरमा आयोजित कार्यक्रममा ७० युनिट रगत संकलन भएको आयोजकले जनाएको छ। नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा स्थानीय नागरिक तथा युवाहरूले स्वस्फूर्त रूपमा रक्तदान गरेका थिए।

    मारवाडी सेवा समिति, भैरहवाका अध्यक्ष श्रवण बेरिवालले विपद्का समयमा घाइते तथा बिरामीको सङ्ख्या बढ्ने भएकाले अस्पतालमा रगतको अभाव हुन नदिन रक्तदान गरिएको बताउनुभयो। बाढीबाट प्रभावित घाइतेको उपचारमा कुनै समस्या नहोस् र रगतको अभावका कारण उपचार प्रभावित हुन नपाओस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।

    उहाँले विपद् तथा आकस्मिक अवस्थामा रगतको माग बढ्ने भएकाले नियमित रक्तदान आवश्यक रहेको उल्लेख गर्नुभयो। सामाजिक संस्थाको सहकार्यमा सञ्चालन हुने यस्ता कार्यक्रमले आवश्यक परेका बिरामीलाई समयमै रगत उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाइ छ। महासचिव मोहित सेठियाले रक्तदान जीवनदान भएकाले आफूहरूले हरेक वर्ष रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। यसपटक बाढीबाट प्रभावित तथा अन्य आकस्मिक अवस्थाका बिरामीको उपचारलाई समेत ध्यानमा राखेर रक्तदान गरिएको उहाँले जानकारी दिनुभयो।

    उहाँले विपद्को समयमा सबै क्षेत्रबाट सक्दो सहयोग आवश्यक रहेको बताउँदै सामाजिक संघसंस्था तथा नागरिकलाई मानवीय सेवाका कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो।

    आयोजकका अनुसार दुर्घटना, बाढीपहिरो, शल्यक्रिया तथा विभिन्न रोगका कारण अस्पतालमा उपचाररत बिरामीलाई रगत आवश्यक पर्ने भएकाले रक्तदानलाई सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाइएको हो। मञ्चले आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.