logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन


    २२ भाद्र २०८३ , सोमबार

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

    लुम्बिनीखबर
    भैरहवा, २२ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भैरहवास्थित आइतबार संस्कृत विद्या सन्यास आश्रमले दीप प्रज्वलन, शान्तिपाठ तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय क्षति भएको तथा धेरै व्यक्ति अझै बेपत्ता रहेको अवस्थामा दिवंगतको सम्झना र पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै आश्रम परिसरमा दीप प्रज्वलन गरिएको हो ।

    कार्यक्रममा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो । साथै बाढी तथा विपत्तिमा आफन्त गुमाएका शोकसन्तप्त परिवारजनप्रति आश्रमले समवेदना व्यक्त गरेको छ । आश्रमका श्री १००८ स्वामी सन्तानन्द सरस्वतीजी महाराजको उपस्थितिमा आश्रममा अध्ययनरत ५५ जना बटुकले वैदिक विधिअनुसार सामूहिक शान्तिपाठ गरेका थिए । बटुकहरूले दिवंगत आत्माको शान्ति तथा विपत्तिबाट प्रभावित परिवारजनलाई दुःख सहन सक्ने धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गरेका थिए ।

    कार्यक्रममा आश्रमका तर्फबाट विपत्तिबाट प्रभावित परिवार तथा पीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। ५० हजार सहयोग गर्ने घोषणा गरिएको स्वामी सन्तानन्द सरस्वतीजीले जानकारी दिनुभयो । प्राकृतिक विपत्तिको समयमा पीडित परिवारलाई राज्य तथा विभिन्न क्षेत्रबाट सहयोग आवश्यक पर्ने उल्लेख गर्दै उहाँले आश्रमले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कोषमा रकम प्रदान गर्ने निर्णय गरेको बताउनुभयो ।

    विपत्तिमा ज्यान गुमाएकाको सम्झनामा गरिएको दीप प्रज्वलन र शान्तिपाठमार्फत आश्रमले दुःखको यस घडीमा पीडित परिवारप्रति साथ र ऐक्यबद्धता प्रकट गरेको धार्मिक ब्यक्तित्व गोबिन्द अधिकारीले जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.