लुम्बिनीखबर
काठमाडौँ, २२ भदौ । सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउने सामग्री प्रसारण गर्नेविरुद्ध नेपाल प्रहरीले निगरानी तथा कानुनी कारबाहीलाई तीव्र बनाएको छ।
यसैक्रममा सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्तिसहितको भिडियो सामग्री सामाजिक सञ्जालमार्फत प्रसारण गरेको आरोपमा प्रहरीले काठमाडौँ चन्द्रागिरि नगरपालिका–१२ बलम्बु बस्ने बैतडी सुर्नया गाउँपालिका–७ घर भएका २४ वर्षीय वीरेन्द्र मडैलाई पक्राउ गरेको छ। साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार मडैले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिका सम्बन्धमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने तथा अपमानित गर्ने र विपत्तिमा खुशी व्यक्त गर्ने आशयको भिडियो बनाई सामाजिक सञ्जाल फेसबुकको रिलमार्फत प्रसारण गरेका थिए।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक सामग्री प्रसारण गर्ने, विपद्का कारण पीडामा रहेका व्यक्तिका विषयमा अनावश्यक टिप्पणी गरी सामाजिक सद्भावमा असर पार्ने तथा पीडितलाई थप मानसिक पीडा हुने किसिमका सामग्री प्रसारण गर्ने गतिविधिमाथि प्रहरीले निगरानी बढाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको दुःखद् अवस्थामा सामाजिक सञ्जालमार्फत त्रास फैलाउने, पीडामाथि थप पीडा दिने तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउने गतिविधि नियन्त्रणका लागि प्रहरी थप सचेत भएर निरन्तर काम गरिरहेको बताउनुभयो।
पछिल्लो तथ्याङ्कअनुसार फेसबुकमा १६८, टिकटकमा चार र इन्स्टाग्राममा एक गरी कुल १७३ वटा गलत सूचना तथा अफवाहसहितका सामग्री प्रसारण भएको पाइएको छ। तीमध्ये साइबर सक्रियतामार्फत फेसबुकका ७९ र टिकटकका चार गरी ८३ वटा सामग्री सामाजिक सञ्जालबाट हटाइएको प्रहरीले जनाएको छ।
यस्ता सामग्रीको निगरानी गरी तत्काल हटाउन तथा यस्ता गतिविधि नियन्त्रण गर्न साइबर ब्यूरोका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ। समितिले सामाजिक सहिष्णुतामा आघात पुर्याउने गतिविधिमा संलग्न व्यक्तिको पहिचान तथा अनुसन्धान गरी सम्बन्धित प्रहरी कार्यालय तथा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेर कानुनी कारबाही गर्ने जनाएको छ।
समितिका संयोजक प्रहरी नायब उपरीक्षक आचार्यले सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक समाचार प्रसारण गर्नेलाई कानुनी दायरामा ल्याउन समिति थप सक्रिय भएर काम गरिरहेको बताउनुभयो। उहाँका अनुसार अनजानमा सामग्री पोस्ट वा सेयर गरेका व्यक्तिलाई सामग्रीको गम्भीरता हेरी सचेत गराउने र त्यस्ता सामग्री हटाउन लगाउने गरिएको छ।
विपद्को समयमा उद्धार तथा राहत व्यवस्थापनसँगै सम्भावित अपराध, ठगी तथा गलत सूचना नियन्त्रणको जिम्मेवारीसमेत प्रहरीले निर्वाह गर्दै आएको छ। विपद्को मौका छोपी राहत सङ्कलनका नाममा हुनसक्ने ठगी, सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह तथा भ्रामक सामग्री र सामाजिक सद्भावमा असर पार्ने गतिविधिमाथि प्रहरीले निगरानी बढाएको जनाएको छ।
विपद्का समयमा नागरिकको खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरणमा सहजीकरण, प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने तथा सम्बन्धित निकायसँग समन्वय गर्ने कामसँगै प्रहरीले आफ्नो नियमित जिम्मेवारीअन्तर्गत अपराध नियन्त्रण तथा अनुसन्धान, लागूऔषध नियन्त्रण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, चोरी तथा तस्करी नियन्त्रण, सीमा क्षेत्रमा हुने अवैध गतिविधिको निगरानी र नियन्त्रण तथा साइबर अपराध नियन्त्रणलगायतका क्षेत्रमा काम गर्दै आएको छ।
सामाजिक सञ्जालमार्फत प्रवाह हुने गलत सूचना, अफवाह तथा भ्रामक सामग्रीको निगरानीलाई थप प्रभावकारी बनाउँदै सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न तथा गैरकानुनी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी प्रतिबद्ध रहेको जनाएको छ।