लुम्बिनीखबर
भैरहवा, २३ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक प्राकृतिक प्रकोपसँगै राजनीतिक र आर्थिक संकटमा रहेको बताउनुभएको छ। उहाँले जनताले अझै सुशासनको अनुभूति गर्न नसकेको दाबी गर्नुभयो। जसपा नेपाल रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकमा भ्रष्टाचार, कमिसनतन्त्र र राजनीतिक अस्थिरता कायमै रहेको बताउनुभयो। उहाँले विगतको निर्वाचनमा विकास, सुशासन र नयाँ राजनीतिको नारा दिएर जनताले नयाँ शक्तिलाई अवसर दिए पनि अपेक्षाअनुसार काम हुन नसकेको टिप्पणी गर्नुभयो।
अध्यक्ष यादवले मुलुक आर्थिक संकटतर्फ उन्मुख रहेको दाबी गर्दै कृषि, उद्योग र पर्यटनलगायतका आर्थिक क्षेत्र कमजोर बन्दै गएको बताउनुभयो। करको भार बढ्दै गएको उल्लेख गर्दै उहाँले आर्थिक रूपमा कमजोर नागरिकमाथि थप कर लगाउनु उचित नभएको धारणा राख्नुभयो। पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका यादवले विगत ३४ वर्षमा पटक–पटक सरकार परिवर्तन भए पनि राजनीतिक स्थायित्व र विकासले अपेक्षित गति लिन नसकेको बताउनुभयो। कांग्रेस र कम्युनिष्ट दलको नेतृत्वमा मुलुकले अपेक्षित विकास तथा सुशासन हासिल गर्न नसकेको उहाँको टिप्पणी थियो।
यादवले पार्टीको अनुशासन र निर्णयविपरीत काम गर्ने जोसुकैलाई विधानअनुसार कारबाही गरिने पनि बताउनुभयो। जसपा नेपालका उपाध्यक्ष तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले पनि मुलुकको वर्तमान अवस्था सन्तोषजनक नरहेको बताउनुभयो। उहाँले जसपा नेपाल अहिले प्रतिनिधिसभामा नरहे पनि जनताका सवाल लिएर सडकमा रहेको बताउनुभयो।
“सदन र सरकार तपाईँको होला, अहिले हाम्रो सडक छ,” सोनलले भन्नुभयो। कार्यक्रममा जसपा नेपालका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रम जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।