लुम्बिनीखबर
भैरहवा, २३ भदौ । सिद्धार्थनगरमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–८ स्थित आजम मासु पसलमा ग्राहकलाई झुक्याएर बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले भदौ २१ गते पसल सञ्चालकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–८ का ३९ वर्षीय आजम कुरेसी रहेका छन्। प्रहरीले मासुसहित उनलाई नियन्त्रणमा लिई कालोबजारीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो।