पशुपति यादव। लुम्बिनीखबर
रोहिणी, २३ भदौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको बताउँदै कार्बन उत्सर्जन गर्ने शक्तिशाली मुलुकहरूबाट सहायता वा राहत होइन, नियमसम्मत क्षतिपूर्ति माग्नुपर्ने धारणा राखेका छन्।
पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षणात्मक सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘राजनीतिक सङ्कट सबैलाई जगजाहेर नै छ। शक्तिशाली मुलुकहरूले प्रकृतिसँग गरेको बलमिचाइका कारण त्यसको प्रत्यक्ष असर हिमालदेखि नेपालका विभिन्न क्षेत्रमा देखा परेको छ। जलवायु परिवर्तनको सङ्कट न्यायसम्मत हिसाबले दान र राहत होइन, प्रकृतिलाई नजरअन्दाज गर्ने मुलुकबाट क्षतिपूर्ति माग्नुपर्छ।’

उनले कार्बन उत्सर्जन ठूलो मात्रामा गर्ने शक्तिशाली देशहरूका कारण नेपालजस्ता हिमाली क्षेत्रले दुःख भोग्नुपरेको उल्लेख गर्दै बढ्दो कार्बन उत्सर्जनले हिमनदीको हिउँ पग्लिने दर तीव्र बनेको र यसले मानव लगायत अन्य जीवजन्तुमा गम्भीर सङ्कट निम्त्याएको बताए। राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय निकायमा कार्बनसम्बन्धी प्रश्न राख्नुपर्ने र वातावरणीय क्षतिपूर्तिका लागि नेपालले आवाज उठाउनुपर्ने उनको भनाइ थियो।
जलवायु परिवर्तनको चपेटमा पर्ने भारत, बङ्गलादेश, पाकिस्तान, भुटान, चीन लगायतका मुलुकसँग समन्वय र साझा प्रश्नसहित अन्तर्राष्ट्रिय सरोकारवालाहरूमाथि दबाब सिर्जना गर्न सके पर्यावरण संरक्षण प्रभावकारी हुने यादवको तर्क थियो। जलवायु परिवर्तनकै कारण नेपालले समस्या भोग्नुपरेको उदाहरणका रूपमा उनले रसुवाको जलप्रलयलाई उल्लेख गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले पार्टी निर्णयविपरीत कार्य गरेका सदस्यहरूमाथि कारबाही हुने बताए। पार्टीको विधिविधानअनुसार हाल २१ जना कारबाहीमा परेको उनले जानकारी दिए। लुम्बिनी प्रदेशका सांसदहरूले पार्टी विधिविधानविपरीत कार्य गरेको भन्दै अनुशासन विभागले उनीहरूलाई पार्टीबाट निष्कासन गरेको जनाएको छ।
केन्द्रीय सदस्य विद्याप्रसाद यादव, अजय बर्मा, निलम यादव, अम्बिका काफ्ले तथा लुम्बिनी प्रदेशका अध्यक्ष रामअवतार यादव लगायत नेताहरूले पनि पार्टीविपरीत कार्य गरेका सभासदहरू कारबाहीमा परेको बताएका छन्।