लुम्बिनीखबर
भैरहवा , २५ भदौ । भारतका विभिन्न स्थानबाट जोखिमपूर्ण अवस्थामा उद्धार गरी नेपाल ल्याइएका १५ नेपाली बालबालिकामध्ये १० जनालाई बुधबार भैरहवामा अभिभावकको जिम्मा लगाइएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको विशेष पहल तथा प्रहरी महानिरीक्षकको समन्वयमा भारतीय प्रहरी, नेपाली राजदूतावास तथा सम्बन्धित सामाजिक संस्थासँगको समन्वयमा उनीहरूको उद्धार गरी स्वदेश ल्याइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
नेपाल प्रहरीको समन्वयमा भारतको दिल्ली स्थित मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था ‘किन इन्डिया’ले महाराष्ट्र, दिल्ली, झारखण्ड र बिहारलगायतका स्थानबाट बालबालिकाको उद्धार गरेको हो। उद्धार गरिएकामध्ये १० बालक र पाँच बालिका छन्। ‘किन इन्डिया’का निर्देशक नवीन जोशीका अनुसार मदरसामा पढाउने भन्दै भारत लैजाने, पारिवारिक विग्रह, घरेलु झैझगडा तथा पारिवारिक हिंसाका कारण केही बालबालिका जोखिमपूर्ण अवस्थामा पुगेका थिए। केही बालिका दिल्लीको रेलवे स्टेशनमा अलपत्र अवस्थामा फेला परेपछि उद्धार गरिएको उहाँले बताउनुभयो।
बुधबार अभिभावकको जिम्मा लगाइएका बालबालिकामध्ये महोत्तरीको सम्सी गाउँपालिकाका छ जना बालक छन्। मदरसामा पढाउने भन्दै महाराष्ट्रको जलान जिल्लामा पुर्याइएका उनीहरूलाई महाराष्ट्र प्रहरीसँगको समन्वयमा उद्धार गरिएको थियो। त्यसैगरी पश्चिम नवलपरासीको प्रतापपुर, रौतहट, झापा र पर्साका एक–एक जना बालिकालाई पनि अभिभावकको जिम्मा लगाइएको छ। उद्धार गरिएका अन्य बालबालिकामा पाल्पाका दुई बालक, अछाम र कञ्चनपुरका एक–एक बालक तथा सिराहाकी एक बालिका छन्।
घरायसी झैझगडा, पारिवारिक विग्रह तथा घरेलु हिंसाका कारण केही बालबालिका अभिभावककहाँ फर्कन इच्छुक नदेखिएको जनाइएको छ। त्यस्ता बालबालिकाको सुरक्षा र आवश्यकताका आधारमा वैकल्पिक व्यवस्थापन गरिने रूपन्दही प्रहरीले जनाएको छ। उद्धारपछि स्वदेश फिर्ती, मानसिक परामर्श, आवास, अभिभावकको खोजी तथा पारिवारिक पुनर्मिलनका लागि ‘किन इन्डिया’, शुभअवसर ग्राम नेपाल र गुड सेफर्ड इन्टरनेशनल फाउण्डेशन नेपालले सहकार्य गर्दै आएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले भारतबाट उद्धार गरी नेपाल ल्याइएका बालबालिकालाई कार्यालयमा ल्याएपछि सम्बन्धित अभिभावकसँग समन्वय गरी जिम्मा लगाइएको बताउनुभयो। उहाँका अनुसार बालबालिकाको उद्धारदेखि स्वदेश फिर्ती र पारिवारिक पुनर्मिलनसम्म नेपाल प्रहरी, भारतीय प्रहरी, नेपाली राजदूतावास तथा सम्बन्धित संघसंस्थाबीचको समन्वयमा प्रक्रिया अघि बढाइएको हो।