लुम्बिनीखबर
भैरहवा, २५भदौ । नेपाल प्रहरीले रुपन्देहीका विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली गरी चोरी पैठारी गरिएका रु २९ लाख २२ हजार १८९ बराबरका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधबार जिल्लाका विभिन्न स्थानमा गरेको जाँचका क्रममा मोटरसाइकलसहित विभिन्न प्रकारका गहना, किराना तथा मिठाईका सामान, सौन्दर्य सामग्री, कपडा र बोइलर कुखुरा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले भन्सार छली तथा चोरी पैठारी नियन्त्रणका लागि जिल्लाका विभिन्न नाका तथा क्षेत्रमा नियमित चेकजाँचलाई प्रभावकारी बनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार अवैध रूपमा भन्सार छली गरी ल्याइएका सामान नियन्त्रणमा लिई प्रचलित कानुनअनुसार कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने गरिएको छ।
प्रहरीका अनुसार मायादेवी गाउँपालिका–६ सानो दर्गोलियाबाट भारतीय नम्बरको मोटरसाइकलसहित रु १५ लाख ५० हजार २२० बराबरका ९८४ पिस रोलगोल्डका गहना, ४० प्याकेट मंगलसूत्र तथा अन्य गहना बरामद गरिएको छ। त्यस्तै बुटवल उपमहानगरपालिका–४ जेसिस चोकबाट रु ९ लाख ८८ हजार ६० बराबरका किराना तथा मिठाईका सामान र सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट रु २ लाख २९ हजार ७२५ बराबरका विभिन्न किराना सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
मायादेवी गाउँपालिका–७ बैरिहवाबाट रु २६ हजार ३०४ बराबरका हिमालयन जेन्टल बेबी पाउडर, डेन्भर सेन्ट, मसाज तेल र फेसवासलगायतका सामान बरामद गरिएको छ। त्यसैगरी सियारी गाउँपालिका–१ मधुवनबाट रु १२ हजार बराबरका ३० थान लेडिज कुर्ता सुरुवाल, रोहिणी गाउँपालिका–६ ललितपुरबाट मोटरसाइकलसहित रु ८५ हजार बराबरका बोइलर कुखुरा तथा रोहिणी गाउँपालिका–३ धकधई चोकबाट रु १६ हजार ४८० बराबरका विभिन्न किराना सामान बरामद गरिएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–६ लोखडियाबाट रु १४ हजार ४०० बराबरका १२ वटा बोइलर कुखुरा पनि नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बरामद सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा पठाइएको बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छली तथा चोरी पैठारी नियन्त्रणका लागि नियमित निगरानी, चेकजाँच र कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ।