logo
  • २५ भाद्र २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारले रु २५ लाख १० हजारसम्म राहत पाउने


    २५ भाद्र २०८३ , बिहिबार

    भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारले रु २५ लाख १० हजारसम्म राहत पाउने

    लुम्बिनीखबर
    भैरहवा , २५भदौ । रसुवाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले विभिन्न कोष, बीमा तथा नेपाल प्रहरीबाट गरी रु २५ लाख १० हजारसम्मको राहत तथा सुविधा पाउने भएका छन्। नेपाल प्रहरीका अनुसार मृतक प्रहरी कर्मचारीका परिवारलाई कल्याण कोषबाट रु ३ लाख, किरिया खर्चबापत रु ४० हजार, राष्ट्रिय वाणिज्य बैंकबाट रु ५ लाखको बीमा, राष्ट्रिय बीमा संस्थानबाट रु २ लाख तथा नेपाल प्रहरी संगठनबाट विशेष राहतस्वरूप रु १० लाख उपलब्ध हुनेछ।

    त्यस्तै, कर्मचारी सञ्चय कोषबाट दुर्घटना क्षतिपूर्तिबापत रु २ लाख र किरिया खर्च रु ४० हजार उपलब्ध हुने व्यवस्था छ। नागरिक लगानी कोषका स्वैच्छिक बचतकर्ताले प्रचलित सर्तअनुसार दुर्घटना बीमाबापत रु २ लाख र किरिया खर्चबापत रु ३० हजार पाउनेछन्। यसरी मृतक प्रहरी कर्मचारीका परिवारले सम्बन्धित कोष तथा बीमा सुविधासहित कुल रु २५ लाख १० हजारसम्म प्राप्त गर्ने नेपाल प्रहरीले जनाएको छ।

    नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। महानिरीक्षक कार्कीले प्रभावित प्रहरी परिवारको जीविकोपार्जनमा सहयोग गर्नुका साथै मृतक तथा प्रभावित प्रहरी कर्मचारीका छोराछोरीको शिक्षामा आवश्यक व्यवस्था मिलाउने बताउनुभएको छ। नेपाल प्रहरी कल्याण कोषबाट लिइएका ऋणसम्बन्धी सुविधामा आवश्यकताअनुसार सहुलियत तथा मिनाहाको व्यवस्था गरिने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेले भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई संगठन, कल्याण कोष तथा सम्बन्धित बीमा र सामाजिक सुरक्षा निकायबाट प्राप्त हुने सुविधालाई समन्वय गरी उपलब्ध गराइने जानकारी दिनुभयो। नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीले मृतक प्रहरी कर्मचारीका परिवारले पाउने राहत तथा सुविधासम्बन्धी विवरणअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको बताउनुभयो।

    भोटेकोशी बाढीमा प्रहरी कर्मचारीसमेत प्रभावित भएपछि नेपाल प्रहरीले उद्धार, खोजी तथा राहतसँगै प्रभावित प्रहरी कर्मचारी र उनीहरूका परिवारको सहयोगका लागि विशेष व्यवस्था अघि बढाएको जनाएको छ । यो विपत्तीवाट ३ जना प्रहरीको मृत्यु भएको छ भने २५ जना हराइ रहेको छन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.