लुम्बिनीखबर
भैरहवा, २६ भदौ । भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा पर्यटन क्षेत्रमा असर परे पनि नेपालका अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित रहेकाले पर्यटन व्यवसायलाई चलायमान बनाउन सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी र सञ्चारकर्मी एकमत भएर अघि बढ्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन्। नाटा लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष सागर अधिकारीले भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको पुनःस्थापनाका लागि राज्यसँग हातेमालो गर्न पर्यटन व्यवसायी तयार रहेको बताउनुभएको छ।
“भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा विस्थापित नागरिकको पुनःस्थापनाका लागि सहयोग गर्न तथा विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो, “यस दुःखद् घडीमा नाटा लुम्बिनी प्रदेश सरकारसँग हातेमालो गरेर प्रभावितको पुनःस्थापनाका लागि सहकार्य गर्न तयार छ।” अधिकारीले विपत्तिबाट केही पर्यटकीय क्षेत्र प्रभावित भए पनि नेपालका अन्य पर्यटकीय गन्तव्यमा पर्यटकीय गतिविधि सञ्चालन भइरहेको बताउँदै सुरक्षित गन्तव्यबारे सकारात्मक सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले पर्यटन व्यवसायलाई पुनःचलायमान बनाउन सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। विपत्तिका कारण नेपालका सबै पर्यटकीय क्षेत्र असुरक्षित छन् भन्ने सन्देश प्रवाह हुन नदिन सुरक्षित गन्तव्यको वास्तविक अवस्थाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जानकारी गराउनुपर्ने उहाँको भनाइ छ। “प्रभावित क्षेत्रमा पुनःस्थापना र राहतका कामसँगै सुरक्षित रहेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन पनि आवश्यक छ”, अधिकारीले भन्नुभयो, “सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी र सञ्चारकर्मी एकमतका साथ अघि बढेमा पर्यटन क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्न सकिन्छ।”
प्राकृतिक विपत्तिका कारण केही क्षेत्रमा पर्यटन व्यवसाय प्रभावित भए पनि लुम्बिनी, पोखरा, चितवन, काठमाडौंलगायतका अधिकांश प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने व्यवसायीको भनाइ छ। पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै व्यवसायीले विपत्तिको समयमा सुरक्षित पर्यटकीय गन्तव्यबारे विश्वसनीय सूचना प्रवाह गर्नुपर्नेमा जोड दिएका छन्।
प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापना तथा पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।