लुम्बिनीखबर
भैरहवा, २६ भदौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० स्थित कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरसहित छ जनालाई नियन्त्रणमा लिएको छ। नेपाली नागरिकहरू क्यासिनोमा प्रवेश गरी जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा बिहीबार साझ प्रहरी टोलीले क्यासिनोमा चेकजाँच गर्दा प्रचलित कानुनविपरीत जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएकामा म्याग्दीको बेनी नगरपालिका–७ का ४८ वर्षीय नारायण घर्ती, कास्कीको पोखरा महानगरपालिका–१५ का ४७ वर्षीय रोशन केसी, पोखरा महानगरपालिका–१७ बिरौटाका ३९ वर्षीय सुदिप आचार्य, रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ का ४६ वर्षीय रामु श्रेष्ठ र बुटवल उपमहानगरपालिका–३ का ३६ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन्। त्यस्तै क्यासिनोका पिट म्यानेजर भारत हरियाणा राज्य फरिदाबादका २५ वर्षीय पारस भाटियालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले क्यासिनोमा नेपाली नागरिकले जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी आवश्यक जाँच तथा कारबाही अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय भैरहवा, रुपन्देही पठाइएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले क्यासिनो तथा अन्य क्षेत्रमा प्रचलित कानुनविपरीत हुने जुवा तथा गैरकानुनी गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ।