logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    सीमा क्षेत्रमा रु १ करोड १५ लाख बराबरको मोबाइल एसेसरिज बरामद


    २६ भाद्र २०८३ , शुक्रबार

    सीमा क्षेत्रमा रु १ करोड १५ लाख बराबरको मोबाइल एसेसरिज बरामद

    लुम्बिनीखबर 

    नवलपरासी, २६ भदौ । लुम्बिनी प्रदेश प्रहरीले सीमा क्षेत्रमा हुने ठूलो परिमाणको तस्करीविरुद्ध कारबाही तीव्र बनाएको छ। यसक्रममा नवलपरासी पश्चिमको सरावल गाउँपालिका–७ भन्सार टोलबाट करिब रु १ करोड १५ लाख बराबरका मोबाइल एसेसरिजसहित पिकअप गाडी नियन्त्रणमा लिइएको छ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट मातहतका प्रहरी युनिटलाई परिचालन गरी गरिएको कारबाहीका क्रममा भारतबाट भन्सार छली ल्याइएका मोबाइल एसेसरिज बरामद गरिएको हो। प्रहरीका अनुसार मिति २०८३ भदौ २६ गते बिहान करिब ४ः३५ बजे इलाका प्रहरी कार्यालय महेशपुर, प्रहरी चौकी भुजहवा र सशस्त्र प्रहरी बल भुजहवाको संयुक्त टोलीलाई देखेपछि सामान पिकअपमा लोड गरिरहेका व्यक्तिहरू गाडी तथा सामान छाडेर फरार भएका थिए।

    इलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक सुबराज बमको कमाण्डमा पाँच जना, प्रहरी चौकी भुजहवाका प्रहरी वरिष्ठ नायब निरीक्षक निलकण्ठ ढकालको कमाण्डमा दुई जना तथा सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको कमाण्डमा सात जनाको संयुक्त टोली परिचालन गरिएको थियो।

    प्रहरीले लु ३ च २९३९ नम्बरको पिकअपबाट सेतो एअरपड १ हजार ७५५ पिस, कालो एअरपड ५३९ पिस, कालो मोबाइल ग्लास ३९ हजार ८०० पिस, सेतो मोबाइल ग्लास ४ हजार ५०० पिस, मोबाइल कभर ९३० पिस तथा एक बोरा प्लास्टिक बरामद गरेको छ।

    बरामद मोबाइल एसेसरिजको अन्दाजी मूल्य रु ९४ लाख ८४ हजार र पिकअप गाडीको मूल्य रु २० लाख रहेको प्रहरीले जनाएको छ। सामान तथा सवारीसाधनको कुल मूल्य रु १ करोड १४ लाख ८४ हजार बराबर रहेको छ।

    बरामद सामान तथा पिकअपलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रयोजनार्थ इलाका प्रहरी कार्यालय महेशपुरमा राखिएको छ। घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी तथा पहिचान गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले सीमा क्षेत्रमा हुने अपराध तथा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखी मातहतका प्रहरी युनिटलाई परिचालन गरी कारबाही अघि बढाइएको बताउनुभयो। उहाँले सानो परिमाणमा सामान ओसारपसार गर्ने व्यक्तिमा मात्र नभई ठूलो परिमाणमा तस्करी गर्ने कारोबारी, लगानीकर्ता र त्यसको मूल सञ्जालसम्म पुग्ने गरी प्रहरीको कारबाही केन्द्रित रहेको जानकारी दिनुभयो।

    प्रदेश प्रहरी कार्यालयबाट परिचालित विशेष प्रहरी टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० स्थित कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच जना नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरसहित छ जनालाई नियन्त्रणमा लिएको घटनालाई पनि प्रदेश प्रहरीले अपराध नियन्त्रण अभियानकै महत्वपूर्ण कारबाहीका रूपमा लिएको छ। उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय भैरहवा पठाइएको छ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उज्वल खड्काले प्रदेश प्रहरी कार्यालयको प्रत्यक्ष निर्देशन तथा मातहतका प्रहरी युनिटको परिचालनमा सीमा अपराध, तस्करी, जुवातास तथा अन्य आपराधिक गतिविधिविरुद्ध नियमित रूपमा कारबाही भइरहेको बताउनुभयो। उहाँका अनुसार सीमा क्षेत्रमा हुने ठूलो परिमाणको तस्करी नियन्त्रणका लागि सूचना संकलन, निगरानी र संयुक्त परिचालनलाई थप प्रभावकारी बनाइएको छ।

    स्थानीयका अनुसार पछिल्लो समय लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशका सीमा क्षेत्रमा सुरक्षा निगरानी तथा अपराध नियन्त्रणलाई थप कडाइ गरेको छ। बाँकेको सीमा क्षेत्र, कपिलवस्तु, नवलपरासी पश्चिम र रुपन्देहीका सीमा क्षेत्रमा हुने तस्करी तथा सीमा अपराध नियन्त्रणमा प्रदेश प्रहरी सक्रिय देखिएको स्थानियको भनाइ छ।

     स्थानीयको अनुसार सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, लागूऔषध कारोबार तथा अन्य आपराधिक गतिविधिसँगै क्यासिनोमा हुने अवैध गतिविधि नियन्त्रणमा पनि प्रदेश प्रहरी कार्यालयले विशेष निगरानी बढाएको छ। प्रदेश प्रहरी कार्यालयको प्रत्यक्ष निर्देशनमा मातहतका प्रहरी युनिटलाई परिचालन गरी नियमित निगरानी, सूचना संकलन तथा कारबाही अघि बढाइनुले सीमा अपराध नियन्त्रणमा सकारात्मक प्रभाव परेको उनीहरूले बताएका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.