logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रहरीको ‘टिमुरे टु त्रिवेणी अपरेसन’


    २६ भाद्र २०८३ , शुक्रबार

    विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रहरीको ‘टिमुरे टु त्रिवेणी अपरेसन’

    लुम्बिनीखबर 

    रुपन्देही, २६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा बेपत्ता व्यक्तिको खोजी कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन नेपाल प्रहरीले टी–टु–टी (टिमुरे टु त्रिवेणीअपरेसन) सञ्चालनमा ल्याएको छ।

    प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनअनुसार सञ्चालन गरिएको टी–टु–टी अपरेसनअन्तर्गत भोटेकोशीदेखि त्रिशूली हुँदै त्रिवेणीसम्मका बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्राथमिकतामा राखिएको छ। प्रभावित क्षेत्रमा व्यापक र व्यवस्थित खोजी अभियान सञ्चालन गर्न नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्रले सम्बन्धित बाढी प्रभावित जिल्लामा आवश्यक निर्देशनसहित पत्राचार गरेको छ।

    टी–टु–टी अपरेसनअन्तर्गत खोज तथा उद्धारका क्रममा केनाइन अर्थात् तालिमप्राप्त कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय–प्रहरी साझेदारी, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनःस्थापना, डिएनए प्रोफाइलिङ र ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।

    बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रका विभिन्न स्थानमा बगेर वा हराएर बेपत्ता भएका व्यक्ति जीवितै हुनसक्ने सम्भावनालाई विशेष प्राथमिकतामा राखी खोज तथा उद्धार कार्य गर्न सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ।

    मृतकको शव वा मानव शरीरका अङ्ग फेला परेमा आवश्यक मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरी उचित व्यवस्थापन गर्न तथा प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैंक कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेमा आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित धनीलाई हस्तान्तरण गर्नसमेत प्रहरी परिचालन गरिएको छ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले बेपत्ताको खोजी कार्यलाई उच्च प्राथमिकतामा राखेर नदी किनारा, भग्नावशेषलगायत सम्भावित स्थानमा प्रहरी टोली परिचालन गरिएको बताउनुभयो।

    “कठिन भौगोलिक अवस्थालाई मध्यनजर गर्दै खोजी कार्यलाई प्रभावकारी बनाउन ड्रोन तथा केनाइनको प्रयोगमा विशेष जोड दिइएको छ। टी–टु–टी अपरेसन सञ्चालन गरी बेपत्ताको खोजी कार्यलाई तीव्र रूपमा अगाडि बढाइएको छ,” प्रवक्ता काफ्लेले भन्नुभयो।

    बाढी प्रभावित आठ जिल्लामा टी–टु–टी अपरेसनअन्तर्गत प्रहरी परिचालन

    टी–टु–टी अपरेसनअन्तर्गत रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका बाढी प्रभावित क्षेत्रमा प्रहरीले सक्रियता बढाएको छ।

    प्रभावित क्षेत्रमा खोज तथा उद्धार, शव सङ्कलन, मुचुल्का तथा घटनास्थल व्यवस्थापन, पोस्टमार्टम, फोटो मोनिटरमार्फत शव पहिचानमा सहजीकरण, डिएनए प्रोफाइलिङका लागि नमुना सङ्कलन तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवको सुरक्षित व्यवस्थापनलगायतका कार्य भइरहेको छ।

    केन्द्रीय प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीका अनुसार भौगोलिक विकटताका कारण उद्धारकर्ता तथा केनाइनसमेत पुग्न नसक्ने स्थानमा ड्रोनको प्रयोग गरी खोजी कार्यलाई प्रभावकारी बनाइएको छ। अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी खोज तथा उद्धार कार्यलाई थप तीव्रता दिइएको उहाँले बताउनुभयो।

    अवरुद्ध सडक मार्ग खुलाउने तथा सडक पहुँच नभएका स्थानमा तुइनमार्फत सर्वसाधारणलाई सुरक्षित आवतजावतमा सहजीकरण गर्ने कार्यसमेत प्रहरीले गरिरहेको छ।

    प्रभावित नागरिकलाई आवश्यक परामर्श तथा सहजीकरण, शव पहिचानमा सहयोग, एम्बुलेन्स व्यवस्थापन, आपत्कालीन रक्तदान, राहत वितरण तथा स्वास्थ्य उपचारमा सहायता, सवारीसाधनमा चढ्न तथा यातायातमा सहजीकरण र भीडभाड तथा आपत्कालीन अवस्थामा माइकिङ गर्न सामुदायिक प्रहरी परिचालन गरिएको छ।

    बाढी प्रभावित क्षेत्रमा रहेका सामुदायिक प्रहरी शाखामार्फत समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय समुदाय, विशेषगरी युवा, जनप्रतिनिधि, महिला तथा अन्य सरोकारवालासँग आवश्यक समन्वय र सहकार्य गरी टी–टु–टी अपरेसनलाई प्रभावकारी बनाउन प्रहरीले विशेष जोड दिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.