लुम्बिनीखबर
भैरहवा , ३० भदौ । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसन, प्रधान कार्यालय बुटवलले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४० लाख एक रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । एशोसियसनले आइतबार आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गरी उक्त सहयोग घोषणा गरेको हो ।
एशोसियसनका अध्यक्ष हिमाल गैरेले संस्थामा आबद्ध व्यवसायीबाट संकलित रकममा सहयोग गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा सबै क्षेत्रबाट मानवीय सहयोगका हात अघि बढाउन आग्रह गर्नुभयो ।
एशोसियसनका निर्वतमान अध्यक्ष प्रेम न्यौपानेले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति समवेदना व्यक्त गर्दै प्रभावित नागरिकको पीडामा साथ दिन सबै नेपालीलाई सहयोगको अभियानमा जुट्न आग्रह गर्नुभयो ।