लुम्बिनीखबर
भैरहवा, ३० भदौ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पत्रकारका लागि रु एक लाख एक हजार १११ आर्थिक सहयोग गरेको छ। बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै क्लबले भैरहवास्थित बुद्धचोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरी सहयोग रकम हस्तान्तरण गरेको हो।
क्लबका संस्थापक अध्यक्ष माधव ढुङ्गानाले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढीका कारण केही पत्रकार अझै बेपत्ता रहेको बताउनुभयो। बाढीबाट कतिपय पत्रकारको घर, सम्पत्ति तथा सञ्चार सामग्रीमा क्षति पुगेको र केहीले परिवारका सदस्यसमेत गुमाएको उहाँले जानकारी दिनुभयो।
क्लबका कोषाध्यक्ष विष्णुप्रसाद भट्टराईका अनुसार नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमार्फत सहयोग रकम उपलब्ध गराइएको हो। उक्त रकम महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलमार्फत हस्तान्तरण गरिएको उहाँले बताउनुभयो।
बाढी प्रभावित पत्रकारलाई व्यवसायिक नाताले तत्काल केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको क्लबका क्लवको सुचना शाखाले जनाएको छ ।