लुम्बिनीखबर
भैरहवा, ३० भदौ । नेपाल भन्सार एजेन्ट संघ, सिद्धार्थनगरले भैरहवा भन्सार कार्यालयमार्फत हुने राजस्व संकलन तथा व्यापार सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।संघका अध्यक्ष मधु प्रसाद पन्थीले भन्सार एजेन्ट व्यवसाय र राज्यबीच समन्वय गर्ने महत्वपूर्ण माध्यमका रूपमा रहेको बताउनुभयो । उहाँका अनुसार भैरहवा भन्सार क्षेत्रबाट हुने आयात–निर्यातसम्बन्धी कामलाई व्यवस्थित बनाउन तथा राज्यले प्राप्त गर्ने राजस्व संकलनमा भन्सार एजेन्टहरूको भूमिका महत्वपूर्ण रहेको छ ।
“भन्सार एजेन्ट व्यवसायी र राज्यबीच समन्वय गर्ने महत्वपूर्ण निकाय हो । भन्सारबाट राजस्व असुलीलाई प्रभावकारी बनाउन एजेन्टहरूले आफ्नो क्षेत्रबाट निरन्तर सहयोग गर्दै आएका छन्”, अध्यक्ष पन्थीले भन्नुभयो । उहाँले नेपाल भन्सार एजेन्ट संघ, सिद्धार्थनगर यस क्षेत्रको ठूलो र सक्रिय संस्थाका रूपमा रहेको उल्लेख गर्दै विगतदेखि नै राजस्व संकलनमा सहजीकरण गर्दै आएको बताउनुभयो । भन्सारसम्बन्धी प्रक्रिया, कागजात व्यवस्थापन तथा आयात–निर्यातसँग सम्बन्धित विषयमा आफ्ना सदस्यलाई आवश्यक जानकारी तथा तालिम प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
संघले भन्सार कार्यालयका कर्मचारी तथा सेवाग्राहीलाई आवश्यक सहजीकरण गर्नुका साथै भन्सार प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउनसमेत सहयोग गर्दै आएको जनाएको छ । संघले स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग समेत समन्वय गर्दै आएको अध्यक्ष पन्थीले बताउनुभयो । उहाँले आगामी दिनमा राज्यसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै राजस्व संकलन, व्यापार सहजीकरण तथा भन्सार प्रशासनलाई सहयोग पुग्ने गरी संस्थागत भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष पन्थीका अनुसार मुलुकको राजस्व प्रणालीलाई बलियो बनाउन व्यवसायी, भन्सार एजेन्ट र राज्यका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक छ ।