लुम्बिनीखबर
भैरहवा, ३१ भदौ । नेपाल आयल निगमका लागि अमलेखगञ्जबाट भलवारी ल्याइँदै गरेको डिजेल बाटोमै अनधिकृतरूपमा निकालिएको आशङ्कामा प्रहरीले रुपन्देहीमा दुईवटा पेट्रोलियम ट्याङ्कर नियन्त्रणमा लिएको छ । सिद्धार्थनगरस्थित लुम्बिनीरोडमा रहेको सर्राफ आयल पम्पमा डिजेल निकालिरहेको अवस्थामा लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्याङ्करलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो । निगमले ढुवानीका क्रममा लगाएको शिल तथा ताला खोलेर ट्याङ्करबाट डिजेल निकालिएको अवस्थामा टोलीले फेला पारेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक कल्पना घर्तीले सूचनाका आधारमा पम्पमा पुगेको प्रहरी टोलीले दुई ट्याङ्कर नियन्त्रणमा लिएको जानकारी दिनुभयो । सो क्रममा अर्को एउटा ट्याङ्कर भने पम्पबाट बाहिरिएर फरार भएको उहाँले बताउनुभयो । शिल तोडेर ट्याङ्करबाट पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा सिद्धार्थनगर नगरपालिका–३ का २२ वर्षीय मसुर अजार हुसेन र २८ वर्षीय दुर्गेस चाईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । ट्याङ्करका चालक तथा सहचालक र पम्प सञ्चालक भने सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
घटनापछि नेपाल आयल निगम, लुम्बिनी प्रादेशिक कार्यालय भलवारीबाट गएको टोलीले सर्राफ आयल पम्प सिल गरेको छ । निगमले घटनाका विषयमा आवश्यक अध्ययन तथा छानबिन अघि बढाएको जनाएको छ । निगमका लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख शैलेन्द्र भुषालले छानबिनबाट ढुवानीका क्रममा अनधिकृतरूपमा पेट्रोलियम पदार्थ निकालिएको पुष्टि भएमा संलग्न ट्याङ्कर धनी, चालक, सहचालक तथा पम्प सञ्चालकलाई निगमको नियम र प्रचलित कानुनबमोजिम कारबाही गरिने बताउनुभयो ।
निगमका अनुसार अमलेखगञ्जबाट पेट्रोलियम पदार्थ बोकेर आउने ट्याङ्कर भलवारीस्थित निगम कार्यालयमा पुगेपछि परिमाण तथा गुणस्तर परीक्षण गरिन्छ । निर्धारित प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित पम्पमा पेट्रोलियम पदार्थ पठाउने व्यवस्था छ । ढुवानीका क्रममा अनधिकृतरूपमा पदार्थ निकाल्न नदिन ट्याङ्करमा विशेष शिल तथा तालाबन्दीको व्यवस्था गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक जनबहादुर शाहीले शिल तोडेर ट्याङ्करबाट पेट्रोलियम पदार्थ निकालिएको अवस्थामा दुई ट्याङ्कर नियन्त्रणमा लिइएको बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । निगमका लुम्बिनी प्रादेशिक कार्यालयका सुरेन्द्र बिष्टले पम्प सिल गरी आवश्यक कारबाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।