लुम्बिनीखबर
भैरहवा, ३१ भदौ । ढुवानी व्यवसाय संघ रुपन्देहीले भारतीय मालवाहक कन्टेनर तथा ट्रक नेपालमा निर्वाध रूपमा सञ्चालन हुँदा नेपाली ढुवानी व्यवसाय संकटमा परेको जनाएको छ । संघका महासचिव मुन्ना ठाकुरले भारतीय मालवाहक सवारीसाधनलाई भन्सार बिन्दुबाट नेपालका विभिन्न स्थानसम्म ७२ घण्टासम्म सञ्चालन गर्न पाउने व्यवस्थाका कारण नेपाली ढुवानी व्यवसायीले प्रतिस्पर्धा गर्न कठिन भएको बताउनुभयो ।
उहाँका अनुसार भारतमा मालवाहक कन्टेनर तथा ट्रक खरिदको लागत तुलनात्मक रूपमा कम हुनुका साथै इन्धन र मोटर पार्ट्ससमेत सस्तो पर्ने भएकाले भारतीय सवारीसाधनले कम भाडामा सामान ढुवानी गर्न सक्ने अवस्था रहेको छ । त्यसको प्रत्यक्ष असर नेपाली ढुवानी व्यवसायीमा परेको उहाँले बताउनुभयो । “भन्सार बिन्दुबाटै भारतीय ट्रकमार्फत काठमाडौं, पोखरा लगायतका विभिन्न गन्तव्यसम्म सामान लैजाने क्रम बढेको छ । यसले नेपालमा करोडौँ रुपैयाँ लगानी गरेर सञ्चालनमा रहेका ढुवानी व्यवसायीलाई समस्या परेको छ”, महासचिव ठाकुरले भन्नुभयो ।
भारतीय मालवाहक सवारीसाधनलाई ७२ घण्टासम्म नेपालका विभिन्न क्षेत्रमा पुग्न सक्ने व्यवस्थाले नेपाली व्यवसायीको व्यवसायमा थप चुनौती सिर्जना गरेको संघको भनाइ छ । भन्सार बिन्दुबाट दैनिक ठूलो सङ्ख्यामा भारतीय ट्रक नेपाल प्रवेश गर्ने र देशका विभिन्न भागमा सामान पुर्याउने गरेको उहाँले बताउनुभयो । महासचिव ठाकुरले नेपाली ढुवानी व्यवसायलाई संरक्षण गर्न भन्सार बिन्दुमै भारतीय मालवाहक सवारीसाधनलाई व्यवस्थापन गरी उनीहरूले ल्याएको सामान नेपाली ढुवानी व्यवसायीका सवारीसाधनमार्फत गन्तव्यसम्म पुर्याउने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो ।
उहाँले भन्सार, नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत सम्बन्धित निकायबीच समन्वय गरी नेपाली ढुवानी व्यवसायीलाई समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो । संघले भारतीय मालवाहक सवारीसाधनको नेपाल प्रवेश तथा सञ्चालनसम्बन्धी व्यवस्थाको पुनरावलोकन गरी नेपाली ढुवानी व्यवसायको संरक्षणका लागि स्पष्ट नीति बनाउनसमेत सरकारसँग माग गरेको छ ।