लुम्बिनीखबर
भैरहवा, १ असोज । नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय रूपन्देहीले पेट्रोलियम पदार्थ ढुवानी गर्ने तीन ट्याङ्करबाट अनधिकृत रूपमा डिजेल झिकेको घटनामा कारबाही गरेको छ। निगमका अनुसार अमलेखगञ्जस्थित मधेश प्रादेशिक कार्यालयबाट भलवारी डिपोका लागि २० हजार लिटरका दरले डिजेल ढुवानी गरी आउँदै गरेका लु १ ख ६५०४, लु २ ख १५४४ र लु १ ख ६६१९ नम्बरका ट्याङ्करबाट सिद्धार्थनगर नगरपालिका–भैरहवास्थित सराफ आयल स्टोर्सको परिसरमा डिजेल झिकिएको अवस्थामा प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।
निगमका अनुसार लु १ ख ६५०४ र लु २ ख १५४४ नम्बरका ट्याङ्करको यान्त्रिक सुरक्षा लकिङ प्रणाली बिगारी डिजेल झिकिरहेको अवस्थामा तथा लु १ ख ६६१९ नम्बरको ट्याङ्करबाट डिजेल निकालेर भाग्ने क्रममा नियन्त्रणमा लिइएको थियो। घटनाबारे प्रहरीले जानकारी गराएपछि निगमका कर्मचारीले प्रहरी टोलीसँगै स्थलगत जाँच गर्दा तीनै ट्याङ्करको लकिङ प्रणालीमा ज्याक लगाई म्यानहोल खोलिएको अवस्थामा रहेको र प्रत्येक ट्याङ्करबाट निकालिएको करिब ३० लिटर डिजेल निलो ड्रममा राखिएको अवस्थामा फेला परेको निगमले जनाएको छ।
घटनाको मुचुल्का तयार गरी प्रहरीकै रोहबरमा सराफ आयल स्टोर्स सिलबन्दी गरिएको थियो। तीनवटै ट्याङ्कर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको तथा चालक, सहचालक र पम्प सञ्चालकविरुद्ध आवश्यक कारबाहीका लागि जाहेरी दिइएको निगमले जनाएको छ। निगमले भदौ ३१ गते सराफ आयल स्टोर्सलाई अनधिकृत रूपमा पेट्रोलियम पदार्थ खरिद तथा बिक्री वितरण गरेको भन्दै नेपाल आयल निगम लिमिटेड बिक्रेता विनियमावली, २०७५ (संशोधनसहित) को विनियम २९ र ३३ बमोजिम रु एक लाख जरिवाना तथा छ महिनासम्म पेट्रोलियम पदार्थ आपूर्ति बन्द गर्ने कारबाही गरेको छ।
त्यसैगरी लु २ ख १५४४, लु १ ख ६५०४ र लु १ ख ६६१९ नम्बरका तीनवटै ट्याङ्करलाई निगमको ढुवानी विनियमावली, २०७३ (संशोधनसहित) को विनियम १७ र १७(घ) बमोजिम तीन महिनाका लागि निलम्बन गरिएको निगमका लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख शैलेन्द्र भुषालले जानकारी दिनुभयो । ती ट्याङ्करका चालक तथा सहचालकलाई निगमका कुनै पनि डिपो तथा कार्यालयमा आजीवन प्रवेश निषेध गर्नुका साथै निगमको करार सम्झौताअन्तर्गत सञ्चालनमा रहेका ट्याङ्कर चलाउन नपाउने गरी कारबाही गरिएको निगमको राससकर्मीलाई जानकारी दिएको छ ।