logo
  • ५ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    लुम्बिनीलाई आध्यात्मिकसँगै दिगो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने


    २ असोज २०८३ , शुक्रबार

    लुम्बिनीलाई आध्यात्मिकसँगै दिगो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने

    लुम्बिनीखबर
    लुम्बिनी, २ असोज । लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीले विश्वमा शान्ति र अहिंसाको सन्देश प्रवाह गर्दै आएको बताउनुभएको छ । लुम्बिनीमा आयोजित ‘बृहत्तर लुम्बिनी क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलन–२०२६’ अन्तर्गतको कार्यक्रममा उहाँले लुम्बिनी विश्वभरका मानिसका लागि महत्वपूर्ण आध्यात्मिक क्षेत्र भएकाले यसको धार्मिक तथा आध्यात्मिक महत्वसँगै पर्यटकीय सम्भावनालाई समेत प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभयो ।

    ‘सम्पदा, तीर्थाटन र विकास: समावेशी तथा दिगो विकासको प्रवर्द्धन’ भन्ने विषयमा सेप्टेम्बर १८ देखि २० सम्म आयोजना हुने सम्मेलनले बृहत्तर लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण, तीर्थाटन प्रवर्द्धन र दिगो विकासका विषयमा महत्वपूर्ण बहस र सहकार्यको आधार तयार गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    कार्यवाहक नगर प्रमुख हरिजनले लुम्बिनीप्रति विश्वभरका युवाको आकर्षण बढ्दै गएको उल्लेख गर्दै यस क्षेत्रको समग्र विकासका लागि नेपाल सरकारसँगै अन्तर्राष्ट्रिय समुदायको समेत सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो । लुम्बिनीको विकास केवल एउटा स्थानीय क्षेत्रको विकास नभई विश्व शान्ति र मानव सभ्यतासँग जोडिएको विषय भएकाले अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले लुम्बिनीको आध्यात्मिक पहिचान कायम राख्दै पर्यटन, पूर्वाधार, वातावरण संरक्षण र स्थानीय समुदायको सहभागितालाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    सम्मेलनको पहिलो दिन आज स्वास्थ्य तथा वैकल्पिक कल्याणकारी कार्यक्रम सञ्चालन गरिने प्रस्तावित कार्यसूची रहेको छ । सम्मेलनमा लुम्बिनीको सम्पदा, तीर्थाटन, पर्यटन, स्थानीय समुदायको सहभागिता तथा दिगो विकासका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.