लुम्बिनीखबर
भैरहवा, ५ असोज । बुद्ध जन्मस्थल लुम्बिनीलाई सम्पदामैत्री पूर्वाधार निर्माण, स्थानीय समुदायलाई आयआर्जनसँग जोड्दै अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्रका रूपमा विकास गर्नुपर्ने सुझावसहित लुम्बिनीमा आयोजित तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। ‘बृहत्तर लुम्बिनी क्षेत्रमा सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीयको दिगो विकास’ विषयक सम्मेलन १२ बुँदे सुझाव तथा सिफारिस पारित गर्दै सम्पन्न भएको लुम्बिनी विकास कोषका निमित्त सदस्य–सचिव ज्ञानीन राईले जानकारी दिनुभयो। बृहत्तर लुम्बिनी क्षेत्रको विकास तथा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सहयोग पुराउने उद्देश्यले आयोजित सम्मेलनले विश्व बैंकको सहयोगमा सञ्चालन हुने ग्ल्याड परियोजनाअन्तर्गत सबै क्षेत्र र सरोकारवालालाई समेटेर सामुदायिक नक्साङ्कन तथा सरोकारवाला संलग्नता योजना तयार गर्न सुझाव दिएको छ।
सम्मेलनले लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलगायत क्षेत्रको पुरातात्त्विक, ऐतिहासिक तथा सांस्कृतिक महत्व कायम राख्दै विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने, स्थानीय समुदायको सहभागिता बढाउनुपर्ने तथा भिक्षु, तीर्थयात्री, साधक र पर्यटकका लागि प्रार्थना, ध्यान, धार्मिक गतिविधि तथा विश्रामका आवश्यक सुविधा विस्तार गर्नुपर्ने सिफारिस गरेको छ। खानेपानी, शौचालय, जुत्ता व्यवस्थापन, सुरक्षा, स्वास्थ्य तथा आगन्तुक सेवामा सुधार गर्नुपर्ने र पवित्रस्थलको शान्तिपूर्ण बौद्ध वातावरण कायम राख्नुपर्ने सम्मेलनको सुझाव छ। स्थलको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्वबारे जानकारी दिन सूचना बोर्ड, प्रशिक्षित स्थानीय गाइड तथा श्रव्य–दृश्य सामग्रीको प्रयोग बढाउन पनि सिफारिस गरिएको छ।
पवित्र बगैँचा, मायादेवी मन्दिर तथा पुरातात्त्विक अवशेषको ऐतिहासिक, धार्मिक र आध्यात्मिक मूल्यलाई सम्मान गर्दै संरक्षण तथा मर्मतसम्भार गर्नुपर्ने र पूर्वाधार निर्माणअघि सम्पदा प्रभाव मूल्याङ्कन, संरक्षण योजना, जलविज्ञान अध्ययन, ढल निकास तथा वातावरणीय न्यूनीकरण योजना तयार गर्नुपर्ने उल्लेख छ।प्रतिनिधिसभा सदस्य तौफिक खानले लुम्बिनी विकास कोष, स्थानीय नागरिक, विहार र स्थानीय तहबीच समन्वय गरी लुम्बिनीलाई उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। युनेस्को नेपालका प्रतिनिधि याको दु तोईले स्थानीयको सक्रिय सहभागितामा बृहत्तर लुम्बिनी विकासका काम अघि बढाउनुपर्ने बताउनुभयो।
सम्मेलनमा भारत, श्रीलंका, इन्डोनेसिया, म्यान्मार, बेलायत, जापान, अस्ट्रेलिया र थाइल्यान्डलगायत देशका बौद्ध विद्वान्, अनुसन्धानकर्ता, पुरातत्त्वविद्, सम्पदाविद् तथा भिक्षु–भिक्षुणीसहित एक सय ५० भन्दा बढीको सहभागिता थियो। सम्मेलनको उद्घाटन संस्कृति तथा पर्यटनमन्त्री खडकराज पौडेल (गनेस)ले गर्नुभएको थियो।