logo
  • ५ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    लुम्बिनी शिक्षा निकेतनको नेतृत्वमा ज्ञवाली


    ५ असोज २०८३ , सोमबार

    लुम्बिनी शिक्षा निकेतनको नेतृत्वमा ज्ञवाली

    लुम्बिनीखबर
    लुम्बिनी, ५ असोज । बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको लुम्बिनी शिक्षा निकेतनको २१औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनले नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ। विद्यालयको शैक्षिक गुणस्तर, व्यवस्थापन तथा संस्थागत विकासलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित नयाँ नेतृत्व चयन गरिएको हो। अधिवेशनबाट गोविन्दप्रसाद ज्ञवाली, पिताम्बर न्यौपाने, नसिम अख्तर खाँ, शेखर कार्की, मिथुनमान श्रेष्ठ र शक्तिधर यादव सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। सन्तकुमार यादव लेखा समिति संयोजकमा निर्वाचित हुनुभएको छ। निर्वाचन मण्डलका संयोजक विजय पाण्डेले नवनिर्वाचित सञ्चालक समिति तथा लेखा समिति संयोजकलाई पद तथा जिम्मेवारीप्रति प्रतिबद्ध रहने गरी सामूहिक रूपमा शपथ ग्रहण गराउनुभएको थियो।

    साधारण सभा तथा अधिवेशन संस्थाका अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीको अध्यक्षता तथा शेयर सदस्य एवं शैक्षिक व्यक्तित्व विजय पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। साधारण सभामा अध्यक्षको वार्षिक प्रतिवेदन, प्रबन्ध निर्देशकको आर्थिक प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत गरी छलफलपछि सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो। नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीले विद्यालयलाई अझ व्यवस्थित, गुणस्तरीय र समयअनुकूल बनाउँदै लैजाने बताउनुभयो। उहाँले शैक्षिक गुणस्तर वृद्धि, विद्यालयको व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने, विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिने तथा अभिभावक र स्थानीय समुदायसँगको सहकार्यलाई थप विस्तार गर्ने बताउनुभयो।

    विद्यालयको प्रबन्धन तथा व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै शैक्षिक, प्रशासनिक तथा विद्यार्थीकेन्द्रित गतिविधिलाई प्रभावकारी बनाउने उहाँको भनाइ थियो। विद्यालयको दीर्घकालीन विकासका लागि सञ्चालक समिति, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो। बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको लुम्बिनी शिक्षा निकेतन यस क्षेत्रको महत्वपूर्ण शैक्षिक संस्थाका रूपमा रहेको छ। विद्यालयले गुणस्तरीय आधुनिक शिक्षासँगै लुम्बिनीको बौद्ध तथा सांस्कृतिक पहिचानलाई शिक्षासँग जोड्ने योजना अघि सारेको छ। उल्लेख्य विद्यार्थी अध्ययनरत यस विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीलाई अनुशासित, जिम्मेवार र सामाजिक रूपमा उत्तरदायी नागरिकका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।

    नयाँ नेतृत्वले बुद्ध धर्म तथा बुद्ध दर्शनसँग सम्बन्धित संस्थासँग सहकार्य गरी नेपालको विद्यमान पाठ्यक्रमको दायराभित्र रहेर बुद्ध, बुद्ध दर्शन, शान्ति, करुणा, अहिंसा तथा नैतिक शिक्षासँग सम्बन्धित विषयलाई विद्यार्थीको सिकाइसँग जोड्ने योजना बनाएको छ। विद्यार्थीको तनाव व्यवस्थापन तथा मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै ध्यान र विपश्यनाजस्ता अभ्याससँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत विद्यालयले गरेको छ। यस्ता कार्यक्रममार्फत विद्यार्थीमा एकाग्रता, सकारात्मक सोच, आत्मअनुशासन तथा तनाव व्यवस्थापनको क्षमता विकास गर्ने विद्यालयको लक्ष्य छ।

    त्यसैगरी ट्राफिक सचेतना, लागूऔषध नियन्त्रण, स्वास्थ्य, वातावरण तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा यस्ता गतिविधिलाई बुद्धको शान्ति, अहिंसा, करुणा र सदाचारको शिक्षासँग जोडेर थप प्रभावकारी बनाउने विद्यालयको योजना छ। विद्यालयको शैक्षिक वातावरणलाई प्रविधिमैत्री तथा विद्यार्थीकेन्द्रित बनाउँदै लुम्बिनीको अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा अघि बढ्ने नवनिर्वाचित समितिले जनाएको छ। विद्यालय सञ्चालनमा २४ जना शेयर सदस्य रहेका छन्। अधिवेशनका लागि गठित निर्वाचन मण्डलमा संयोजक विजय पाण्डे, सदस्य राजेश ढकाल र सदस्य–सचिव विद्यालयका प्राचार्य नामदेव अर्याल रहनुभएको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.