कमल रायमाझी /लुम्बिनीखबर
भैरहवा, ५ असोज । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘भेन्यू’ भैरहवामा औपचारिक रूपमा भित्रिएको छ। हुन्डाईको आधिकारिक विक्रेता जगत मोटर्स प्रालि।, भैरहवाले नयाँ पुस्ताको भेन्यूलाई भैरहवा तथा आसपासका ग्राहकका लागि बजारमा ल्याएको हो। आधुनिक डिजाइन, प्रविधि, सुरक्षा र आरामदायी सुविधाको संयोजन रहेको नयाँ भेन्यूले कम्प्याक्ट एसयूभीका ग्राहकको आवश्यकता पूरा गर्ने कम्पनीले जनाएको छ। नयाँ भेन्यू भैरहवामा भित्रिएसँगै यस क्षेत्रका ग्राहकले हुन्डाईको पछिल्लो पुस्ताको एसयूभीलाई नजिकबाट अनुभव तथा परीक्षण गर्न पाउने भएका छन्।
जगत मोटर्स प्रालि। भैरहवा क्षेत्रमा हुन्डाईको स्थापित तथा विश्वसनीय शोरुमका रूपमा परिचित छ। सवारी बिक्रीसँगै बिक्रीपछिको सेवा, नियमित सर्भिसिङ, मर्मतसम्भार तथा ग्राहक सेवामा निरन्तर ध्यान दिँदै आएको शोरुमले छोटो समयमै ग्राहकबीच छुट्टै पहिचान बनाउन सफल भएको छ। व्यवस्थित सञ्चालन व्यवस्थापन र दक्ष प्राविधिक सेवाका कारण जगत मोटर्सको सर्भिसिङ सेवा ग्राहकको रोजाइमा पर्दै आएको शोरुमको दाबी छ। सवारीसाधन खरिदपछि प्राप्त हुने सेवा तथा मर्मतसम्भारलाई ग्राहकको निर्णयको महत्वपूर्ण आधार मानिँदै आएको अवस्थामा जगत मोटर्सले बिक्रीपछिको सेवामा विशेष प्राथमिकता दिँदै आएको छ। ग्राहकलाई सवारीसाधनको नियमित सर्भिसिङदेखि आवश्यक प्राविधिक परामर्श तथा समस्या समाधानसम्म सहज र भरपर्दो सेवा उपलब्ध गराउँदै आएकाले हुन्डाईले भैरहवा बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको छ।
नयाँ भेन्यूको बाहिरी बनोटलाई ‘ट्विन हर्न’ एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल तथा सिग्नेचर सी–पिलर गार्निसले थप आकर्षक बनाएको छ। गाडीको भित्री भागमा १०.२५ इन्चको सीसीएनसी इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफलगायतका सुविधा छन्। दैनिक यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले गाडीमा आधुनिक प्रविधि तथा सुविधा थप गरिएको कम्पनीले जनाएको छ।
नयाँ भेन्यूमा कप्पा १.२ लिटर एमपीआई पेट्रोल तथा कप्पा १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनको विकल्प उपलब्ध छ। सामान्य दैनिक प्रयोगका लागि सहज कार्यसम्पादनसँगै टर्बो इन्जिनमार्फत थप प्रतिक्रियाशील कार्यसम्पादनको विकल्प उपलब्ध हुने जनाइएको छ। सुरक्षाका दृष्टिले गाडीमा छवटा एयरब्याग, ईबीडीसहितको एबीएस, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट तथा हिल–स्टार्ट असिस्ट कन्ट्रोललगायतका सुविधा उपलब्ध छन्।
नेपाली बजारमा नयाँ भेन्यूको सुरुआती मूल्य रु ४८ लाख ९६ हजार रहेको छ। यो एचएक्स–२, एचएक्स–५ प्लस र एचएक्स–५ डीसीटी गरी तीन भेरियन्टमा उपलब्ध छ। एचएक्स–२ र एचएक्स–५ प्लसमा १,१९७ सीसी पेट्रोल तथा एचएक्स–५ डीसीटीमा ९९८ सीसी पेट्रोल इन्जिन रहेको छ। वरिष्ठ पत्रकार शम्भु पन्तले हुन्डाईका गाडीप्रतिको ग्राहकको रोजाइमा गाडीको गुणस्तर, विश्वसनीयता र शोरुमले उपलब्ध गराउने बिक्रीपछिको सेवा महत्वपूर्ण रहेको बताउनुभयो। ग्राहकले गाडी खरिद गर्दा मूल्य र सुविधासँगै सर्भिसिङ तथा मर्मतसम्भारको विश्वसनीयतालाई समेत हेर्ने भएकाले भैरहवामा हुन्डाईले बनाएको सेवा संरचना महत्वपूर्ण पक्ष बनेको उहाँको भनाइ छ।
हुन्डाईका गाडी प्रयोग गर्दै आउनुभएका ग्राहक सन्तोष रायमाझीले हुन्डाई व्यवस्थित र भरपर्दो रहेको अनुभव सुनाउनुभयो। उहाँले गाडीका सुविधा, प्रविधि, सुरक्षा तथा आरामदायी विशेषताका कारण हुन्डाई आफ्नो रोजाइमा परेको बताउनुभयो। नयाँ भेन्यूमा आधुनिक सुविधा तथा उपयोगी फिचरहरू रहेकाले ग्राहकका लागि आकर्षक विकल्प बन्न सक्ने उहाँको भनाइ छ। नयाँ भेन्यूसँगै जगत मोटर्स प्रालिले भैरहवा तथा आसपासका बजारमा हुन्डाईको बिक्रीसँगै बिक्रीपछिको सेवालाई समेत थप प्रभावकारी बनाउने जनाएको छ। ग्राहकलाई गाडी खरिदपछिको सेवा सहज रूपमा उपलब्ध गराउने, नियमित सर्भिसिङ तथा प्राविधिक समस्या समाधानमा प्राथमिकता दिने र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखेर सेवा विस्तार गर्दै जाने शोरुमले जनाएको छ।