लुम्बिनीखबर
भैरहवा, ५ असोज । सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखाले सर्ने तथा नसर्ने रोगको जोखिम, लक्षण र रोकथामका उपायबारे समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–१२ मा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा पिएचआरडी नेपालका कार्यक्रम अधिकृत विनोद पोखरेलले सर्ने तथा नसर्ने रोगका कारण, लक्षण र सम्भावित जोखिमका विषयमा जानकारी दिँदै स्वास्थ्यसम्बन्धी असामान्य घटना वा रोगका लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्नुभयो। उहाँले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीयवासीले समुदायमा देखिने स्वास्थ्यसम्बन्धी समस्या र असामान्य घटनाबारे समयमै जानकारी गराउँदा रोगको जोखिम न्यूनीकरण तथा आवश्यक स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुग्ने बताउनुभयो।
सिद्धार्थनगर नगरपालिकाका सिनियर अहेब दुर्गाबहादुर थापाले विभिन्न रोगको जोखिम न्यूनीकरण तथा जनस्वास्थ्य संरक्षणमा नगरपालिकाले निर्वाह गर्दै आएको भूमिकाबारे जानकारी दिनुभयो। उहाँले स्थानीयवासीको आवश्यकता र मागअनुसार स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। नगरपालिकाका जनस्वास्थ्य अधिकृत बविता घिमिरेले समुदाय केन्द्रित स्वास्थ्य कार्यक्रमले नागरिकमा स्वास्थ्यसम्बन्धी ज्ञान र सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विभिन्न क्षेत्रमा सञ्चालन हुने यस्ता कार्यक्रममा स्थानीयको सहभागिता र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
नगरपालिकाकी अनमी उमा काफ्लेले रोगका लक्षण, स्वास्थ्य सावधानी तथा समुदायमा अपनाउनुपर्ने रोकथामका उपायबारे जानकारी दिनुभयो। कार्यक्रममा समुदायमा कहिलेकाहीँ अप्रत्याशित तथा असामान्य स्वास्थ्यसम्बन्धी घटना वा रोग देखिन सक्ने भएकाले त्यस्ता घटनाको समयमै पहिचान र सूचना प्रवाह महत्वपूर्ण हुने बताइएको थियो। त्यस्ता घटनाले व्यक्ति तथा समुदायको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने भएकाले स्थानीयस्तरमा स्वास्थ्यसम्बन्धी सूचना आदानप्रदान र समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा मानिसमा मात्र नभई कुखुरा, हाँस, कुकुर, सुँगुरलगायत पशुपक्षीमा समेत असामान्य रोग वा स्वास्थ्य समस्या देखिन सक्ने भएकाले त्यस्ता घटना देखिएमा सम्बन्धित पशु सेवा निकायमा जानकारी गराउन आग्रह गरिएको थियो। स्वास्थ्यसम्बन्धी समस्या, जनस्वास्थ्य घटना वा रोगका लक्षणबारे जानकारी तथा आवश्यक परामर्शका लागि ‘हेलो स्वास्थ्य’ १११५ मा सम्पर्क गर्नसमेत कार्यक्रममा जानकारी गराइएको थियो। सिद्धार्थनगर नगरपालिका–१२ का वडा अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय महिला, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, पत्रकार, सञ्चारकर्मी तथा स्थानीयवासीको सहभागिता थियो।