logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए


    १२ असोज २०८३ , सोमबार

    सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

    लुम्बिनीखबर
    भैरहवा, १२ असोज । लगातारको वर्षासँगै विभिन्न राजमार्ग तथा सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएपछि भैरहवाबाट सञ्चालन हुने लामो दूरीका यातायात सेवा प्रभावित भएका छन्। सिद्धार्थ बसपार्कबाट काठमाडौँ, पोखरा, बागलुङ, बेनी, जनकपुरलगायतका गन्तव्यमा जाने दर्जनौँ बस सञ्चालन हुन नसकेर बसपार्कमै रोकिएका छन्। सामान्य अवस्थामा काठमाडौँ र पोखरातर्फ नियमित रूपमा बस छुट्ने गरे पनि पछिल्ला दिनमा सडक अवरुद्ध भएपछि सेवा प्रभावित भएको हो।

    सिद्धार्थ सार्वजनिक यातायात प्रालिका अध्यक्ष सञ्जीव रोक्काले वर्षाका कारण सडक अवरुद्ध हुँदा यातायात व्यवसायीको आम्दानी ठप्प भएको बताउनुभयो। “सवारीसाधन सञ्चालन गर्न नसक्दा आम्दानी शून्य भएको छ। तर कर्मचारीको तलब, बैंकको किस्ता र अन्य खर्च नियमित रूपमा व्यहोर्नुपर्छ,” उहाँले भन्नुभयो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले वर्षाका कारण विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रहरीले सडकको अवस्था तथा यातायात सञ्चालनबारे नियमित रूपमा निगरानी गरिरहेको छ।

    पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग तथा बिपी राजमार्गलगायतका सडकखण्डमा पहिरो तथा बाढीका कारण आवागमन प्रभावित भएपछि भैरहवाबाट बाहिरिने लामो दूरीका सवारीसाधन रोकिएका हुन्। चाडपर्व नजिकिँदै गर्दा सडक अवरुद्ध भएपछि यात्रु तथा यातायात व्यवसायी दुवै प्रभावित भएका छन्। सुनौली नाका हुँदै नेपाल प्रवेश गरेका भारतीय मालवाहक सवारीसाधनसमेत सडक अवरोधका कारण विभिन्न स्थानमा रोकिएका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.