logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    विश्व पर्यटन दिवसमा बेलहियामा भारतीय पर्यटकलाई स्वागत


    १२ असोज २०८३ , सोमबार

    विश्व पर्यटन दिवसमा बेलहियामा भारतीय पर्यटकलाई स्वागत

    लुम्बिनीखबर
    भैरहवा , १२ असोज । ४७औँ विश्व पर्यटन दिवसका अवसरमा रुपन्देहीको बेलहिया नाकाबाट नेपाल प्रवेश गरेका दुई भारतीय पर्यटकलाई आज स्वागत तथा सम्मान गरिएको छ । भारतबाट नेपाल भ्रमणका लागि प्रवेश गर्ने पहिलो पर्यटकका रूपमा भारतको उत्तराखण्डस्थित रुड्कीबाट आएका कार्तिके शर्मा र दिल्लीबाट आएका सन्दिप सिंहलाई बेलहिया नाकामा लुम्बिनी प्रदेश सरकारका वन, वातावरण तथा पर्यटनमन्त्री तुलसी चौधरीले स्वागत तथा सम्मान गर्नुभयो ।

    आठ दिनका लागि अन्नपूर्ण आधार शिविर (एबीसी) भ्रमण गर्न नेपाल आउनुभएका शर्मा र १२ दिनका लागि अन्नपूर्ण सर्किट ट्रेकिङमा आउनुभएका सिंहलाई पर्यटन विकास परिषद्, लुम्बिनीको आयोजनामा भएको कार्यक्रममा स्वागत गरिएको हो । सो अवसरमा मन्त्री चौधरीले नेपालको अधिकांश पर्यटकीय क्षेत्र पर्यटकका लागि सुरक्षित रहेको बताउँदै रसुवा र नुवाकोट क्षेत्रबाहेक अन्य पर्यटकीय गन्तव्यमा भ्रमण गर्न सकिने जानकारी दिनुभयो । उहाँले नेपालको पर्यटन क्षेत्रको विकासमा छिमेकी मुलुक भारतबाट आउने पर्यटकको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

    ४७औँ विश्व पर्यटन दिवसको मूल समारोहका रूपमा बेलहिया नाकामा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, पर्यटन विकास परिषद् कार्यालय प्रमुख शारदा बस्याललगायतको उपस्थिति थियो ।

    त्यसैगरी नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनीका अध्यक्ष चन्द्रबहादुर थापा, लुम्बिनी होटल सङ्घका अध्यक्ष सिपी श्रेष्ठ, होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष माधव खनाल, सोट्टो नेपालका अध्यक्ष सञ्जीव जोशीलगायत पर्यटन क्षेत्रका प्रतिनिधिले भारतीय पर्यटकलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा पर्यटन विकास परिषद्का सदस्य माधव नेपाललगायत पर्यटन व्यवसायी तथा सरोकारवालाको सहभागिता थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.