logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    बेलहिया नाकाबाट तेस्रो मुलुकका पर्यटक आगमनमा सुधार


    १४ असोज २०८३ , बुधबार

    बेलहिया नाकाबाट तेस्रो मुलुकका पर्यटक आगमनमा सुधार

    लुम्बिनीखबर
    भैरहवा, १४ असोज । बुद्ध जन्मस्थल लुम्बिनी प्रवेश गर्ने प्रमुख स्थलमार्गी नाका बेलहियाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्यामा सुधार देखिएको छ। यद्यपि पर्यटक प्रवेश गर्ने प्रमुख नाकाका रूपमा रहेको बेलहियाको भौतिक पूर्वाधार, सौन्दर्यकरण र पर्यटकमैत्री सेवासुविधा भने अपेक्षाअनुसार विकास हुन सकेको छैन। अध्यागमन कार्यालय बेलहियाका अनुसार सन् २०२५ मा उक्त नाका हुँदै तेस्रो मुलुकका एक लाख तीन हजार ९५५ पर्यटक नेपाल प्रवेश गरेका थिए। सन् २०२६ को सेप्टेम्बर २६ सम्ममा ७५ हजार ९०६ पर्यटक प्रवेश गरिसकेका छन्। यो गत वर्षको कुल आगमनको करिब ७३ प्रतिशत हो।

    पर्यटकीय सिजन सुरु हुन बाँकी रहेकाले यस वर्ष पर्यटक आगमन गत वर्षकै हाराहारीमा पुग्ने अपेक्षा गरिएको अध्यागमन कार्यालयले जनाएको छ। अध्यागमन कार्यालय बेलहियाका सूचना अधिकृत पुकार श्रेष्ठले हालसम्मको औसत दैनिक आगमनको गति कायम रहेमा वर्षको अन्त्यसम्म सन् २०२५ को हाराहारीमा पर्यटक आगमन पुग्न सक्ने बताउनुभयो। “समग्रमा अहिलेको अवस्थामा पर्यटक आगमन राम्रो छ। बाँकी महिनामा पनि सुधार हुने अपेक्षा छ,” उहाँले भन्नुभयो।

    बेलहिया नाका हुँदै श्रीलंका, थाइल्याण्ड, म्यानमार, भियतनाम र दक्षिण कोरियालगायतका मुलुकबाट पर्यटक आउने गरेका छन्। स्थलमार्गबाट नेपाल प्रवेश गर्ने अधिकांश पर्यटकको प्रमुख गन्तव्य लुम्बिनी हुने गरेको छ। लुम्बिनीपछि पोखरा, चितवन, मुस्ताङ र काठमाडौँलगायतका पर्यटकीय गन्तव्यमा पुग्ने पर्यटकसमेत रहेका छन्। यसले बेलहिया नाका लुम्बिनी प्रवेश गर्ने मात्र नभई नेपालका विभिन्न पर्यटकीय गन्तव्य जोड्ने महत्वपूर्ण स्थलमार्गी प्रवेशबिन्दुका रूपमा स्थापित हुँदै गएको देखाउँछ। तर, अन्तर्राष्ट्रिय पर्यटकले नेपाल प्रवेश गर्ने पहिलो बिन्दु बेलहियामा व्यवस्थित पार्किङ, सरसफाइ, पर्यटक सूचना केन्द्र, विश्रामस्थललगायतका आधारभूत पूर्वाधारको अभाव रहेको पर्यटन व्यवसायीको गुनासो छ।

    पर्यटन व्यवसायी तथा नाटा लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष सागर अधिकारीले बेलहिया–भैरहवा क्षेत्रलाई पर्यटकको स्वागतद्वारका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। नाकाको सौन्दर्यकरणसँगै पर्यटक सूचना प्रणाली, बहुभाषिक सूचना बोर्ड, व्यवस्थित यातायात, सरसफाइ, हरियाली र सुरक्षित आवागमनको व्यवस्था गर्न सके पर्यटक आगमनबाट लुम्बिनी तथा अन्य गन्तव्यमा थप आर्थिक लाभ विस्तार गर्न सकिने उहाँको भनाइ छ। सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बेलहिया नाका व्यवस्थापनमा संघीय सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। “पर्यटक आगमन मात्रै होइन, यो नाका मुलुककै लाइफलाइन हो। यहाँ आउने पर्यटकलाई राम्रो व्यवहार र आवश्यक सेवासुविधा दिनुपर्छ,” उहाँले भन्नुभयो।

    बेलहिया नाका हुँदै वार्षिक हजारौँ तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरिरहेका छन्। अध्यागमन कार्यालयले राहदानीवाहक पर्यटकको विवरण राख्ने गरे पनि भारतीय पर्यटकको भने सोही आधारमा तथ्यांक राख्ने गरेको छैन। सीमावर्ती क्षेत्र तथा अन्य पर्यटकीय गन्तव्यमा घुम्न, तीर्थाटन तथा धार्मिक गतिविधिका लागि ठूलो संख्यामा भारतीय पर्यटक आउने गरेका छन्। पर्यटन व्यवसायीका अनुसार अब बेलहियाको चुनौती पर्यटकको संख्या बढाउनु मात्र नभई नेपाल प्रवेश गर्ने पहिलो बिन्दुमै पर्यटकले सकारात्मक र व्यवस्थित पर्यटन अनुभव गर्ने वातावरण तयार गर्नु हो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.