लुम्बिनीखबर
भैरहवा, २९ असोज । रुपन्देहीको बुटवलस्थित नयाँ बसपार्कबाट ३६ किलो चरेशजस्तो देखिने पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका–९ घर भई हाल बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा बस्दै आएका ५३ वर्षीय लुकबहादुर रखाल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–९ स्थित नयाँ बसपार्कमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले असोज २६ गते रखाललाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका रखाललाई बरामद पदार्थसहित रुपन्देही जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतले असोज २७ गते लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा थप अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।