लुम्बिनीखबर
भैरहवा, २५ असोज । आगामी दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि, चोरी–लुटपाट, तस्करी, कालोबजारी तथा सवारी दुर्घटना नियन्त्रण गरी नागरिकलाई सुरक्षित र भयरहित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन सुरक्षा योजना लागू गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीका अनुसार चाडपर्वको अवधिमा जिल्लाभर आवश्यकताअनुसार एक हजार २१५ जना प्रहरी परिचालन गरिनेछ । जिल्लामा हाल एक हजार १६५ जना प्रहरी कार्यरत रहेकामा अपुग ५० जना जनशक्ति प्रदेश प्रहरी कार्यालयबाट माग गरी परिचालन गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
भारतसँग रुपन्देहीको खुला सीमा जोडिएकाले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको एसपी शाहीले बताउनुभयो । बेलहिया, कालिदहलगायत १७ वटा मुख्य सीमा नाकामा चेकजाँच तथा संयुक्त गस्ती सञ्चालन गरिनेछ । सीमा अपराध, चोरी–तस्करी, अवैध हातहतियार तथा पटाका र विस्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्न प्रहरीलाई उच्च सतर्कतामा राखिएको उहाँले जानकारी दिनुभयो । पूर्व–पश्चिम, सिद्धार्थ र हुलाकी राजमार्गका १० विभिन्न खण्डमा २४ सै घण्टा हतियारसहितको क्रस पेट्रोलिङ तथा संयुक्त ट्राफिक चेकजाँच गरिने प्रहरीले जनाएको छ । चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले भैरहवा र बुटवल बसपार्क, बेलहिया नाका, लुम्बिनी, कालिदह, गोलपार्कलगायत नौ मुख्य स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिनेछ । ती कक्षमार्फत बढी भाडा असुली, टिकटमा ठगी तथा यात्रुमाथि हुने दुर्व्यवहार नियन्त्रण गरिने एसपी शाहीले बताउनुभयो ।
चाडपर्वको मौका छोपी हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र खाद्यवस्तुमा मिसावट नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधिसम्बन्धी निकाय, उद्योग वाणिज्य संघ तथा प्रहरीको संयुक्त टोलीले बजार अनुगमन गर्ने उहाँले जानकारी दिनुभयो । बढी आर्थिक कारोबार हुने स्थानमा निगरानी बढाउनुका साथै सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने प्रहरीको योजना छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दका अनुसार सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन जिल्लाका विभिन्न स्थानमा कमान्ड पोस्ट, पैदल गस्ती, चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे मोबाइल गस्ती, पिकेट ड्युटी, यात्रु सहायता कक्ष र हतियारसहितको क्रस पेट्रोलिङ सञ्चालन गरिनेछ । चाडपर्व लक्षित १५ प्रकारका रणनीतिक सुरक्षा ड्युटी निर्धारण गरी कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयो ।
सुरक्षा योजनालाई प्रविधिमैत्री बनाउँदै बुटवल, भैरहवा, बेलहियालगायत प्रमुख बजार तथा संवेदनशील चोकमा जडान गरिएका सीसीटीभी क्यामेरामार्फत जिल्ला प्रहरी कार्यालयको नियन्त्रण कक्षबाट २४ सै घण्टा निगरानी गरिनेछ । सामाजिक सञ्जालमा अफवाह फैलाउने तथा डिजे र धार्मिक गीत–संगीतका नाममा साम्प्रदायिक विवाद सिर्जना गर्ने गतिविधिमाथि निगरानी गर्न साइबर तथा सामाजिक सञ्जाल अनुगमन डेस्कलाई सक्रिय बनाइएको डीएसपी चन्दले बताउनुभयो । छठ पर्वका अवसरमा नदी, ताल तथा छठघाटमा हुन सक्ने डुबान र दुर्घटना न्यूनीकरणका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली, गोताखोर तथा एम्बुलेन्स सेवालाई तयारी अवस्थामा राखिने प्रहरीले जनाएको छ ।
प्रहरीको प्रयासले मात्र चाडपर्वलाई शान्तिपूर्ण र मर्यादित बनाउन सम्भव नहुने भएकाले शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ । घर छाडेर टाढा जाँदा छिमेकी वा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउन, जुवातास तथा अवैध मदिराको कारोबारबाट टाढा रहन र कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न प्रहरीले अनुरोध गरेको छ । चाडपर्वका समयमा नागरिकको सुरक्षा, सीमा व्यवस्थापन, बजार अनुगमन, सवारी आवागमन र सम्भावित विपद् नियन्त्रणलाई प्राथमिकतामा राखेर सुरक्षा योजना कार्यान्वयन गरिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।