भैरहवा, माघ १२ । नेपाल कमर्शियल आर्टिष्ट संघ, जिल्ला कार्य समिति रूपन्देहीले आफ्नो स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको छ। “संघ हाम्रो लागि, हामी संघको लागि, कलाकारिता नै राष्ट्रको मूल सभ्यता, अनेकतामा एकता यस संघको विशेषता” नाराका साथ आयोजना गरिएको यो कार्यक्रम १२ गते शनिबार भैरहवा फुटसल मैदानमा सम्पन्न भएको हो।
प्रतियोगितामा नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्य समिति, रूपन्देही र नवलपरासीका टिमहरूबीच प्रतिस्पर्धा भयो। रोमाञ्चक खेलमा नवलपरासीले ६ गोल गर्दै विजयी भयो भने रूपन्देही ४ गोलका साथ उपविजेता बन्यो। खेलको पहिलो हाफमा नवलपरासीले ५ मिनेटमै ३ गोल गर्दै अग्रता लियो। दोस्रो हाफमा थप २ गोल गर्दै नवलपरासीले खेल आफ्नो पक्षमा ल्यायो।

नवलपरासी टिमका राजकुमार रेश्मी (अध्यक्ष) ले २ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए। सचिव धर्मेन्द्र चौधरीले पनि २ गोल गर्दै नवलपरासीको जीत सुनिश्चित गर्न मुख्य भूमिका खेले। प्रदीप चौधरी र कृष्णा चौधरीले १/१ गोल गर्दै टिमलाई बलियो बनाए। टिमका गोलरक्षक मिनु चौधरीले खेलभर उत्कृष्ट बचाउ प्रदर्शन गर्दै आफ्नो भूमिकालाई प्रभावकारी बनाएका थिए।
रूपन्देही टिमका तर्फबाट संघका वरिष्ठ उपाध्यक्ष अशोक कुमालले १ गोल गर्दै टिमलाई बलियो बनाउने प्रयास गरे। उपाध्यक्ष मनोहर थापाले थप १ गोल गरे भने सचिव बिशन गुरुङ र सदस्य सुग्रिम हरिजनले १/१ गोल गर्दै योगदान दिए। गोलरक्षक शैलेन्द्र सहानीले खेलभर उत्कृष्ट बचाउ गर्दै थप गोल हुनबाट टिमलाई जोगाए।

कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रीय सदस्य रबि घिमिरेले संघको एकता, सहकार्य र सामूहिक ऊर्जा प्रदर्शन गर्ने उद्देश्य सफल भएको बताए। उनले भने, “नेपाल कमर्शियल आर्टिष्ट संघ, जिल्ला कार्य समिति, रूपन्देहीको स्थापना दिवसको अवसरमा आयोजना गरिएको यो मैत्रीपूर्ण फुटसल कार्यक्रमले हामीलाई सहकार्य र एकताको भावना प्रगाढ बनाउन प्रेरित गरेको छ।’’

कार्यक्रमका सभाध्यक्ष तथा नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्य समिति, रूपन्देहीका अध्यक्ष दिनेशमणि कोहारले भने, “कार्यक्रमको मुख्य उद्देश्य संघका सदस्यहरूबीच आपसी सम्बन्धलाई थप प्रगाढ बनाउनु, स्वास्थ्यप्रति सचेतना फैलाउनु, र रचनात्मक विचारलाई प्रोत्साहित गर्नु हो। साथै, यस संघको गतिविधिलाई अझ प्रभावकारी र गतिशील बनाउन यस किसिमका क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्छ भन्ने हाम्रो विश्वास हो।’’
कार्यक्रमको समापनमा विजेता र उपविजेता टिमलाई ट्रफी तथा मेडल वितरण गरियो। कार्यक्रम सञ्चालन संघका सचिव बिशन गुरुङले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष अशोक कुमालले व्यक्त गरेका थिए। यस अघि नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्य समिति, रूपन्देहीले आफ्नो स्थापना दिवसकै अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा आर्ट वर्कसप सम्पन्न गरेको थियो ।
