बिशन गुरूङ
भैरहवा, जेठ २८ । सिद्धार्थनगर नगरपालिका–४, विमानघाटस्थित सिद्धार्थ बौद्ध गुम्बाको जेठ २८ गते बुधबार भव्यरुपमा उद्घाटन सम्पन्न भएको छ । २०७२ साल असोज १० गते श्रीमती वास्मती गुरुङ्गज्यूको करकमलबाट शिलान्यास भएको यो गुम्बा लामो प्रयासपछि करिब ६२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।
उद्घाटन समारोहको प्रमुख अतिथिका रुपमा वडा नं. ४ का अध्यक्ष मुक्तिप्रसाद यादव ‘भोला’ रहनुभएको थियो। कार्यक्रममा अध्यक्ष यादवले गुम्बा निर्माणमा समर्पित सम्पूर्ण व्यक्तिहरुप्रति आभार व्यक्त गर्दै भने, “नेता भनेको कुर्सी हल्लाउन होइन, समाज बनाउन निर्वाचित हुने हो। समाजलाई अघि बढाउन जिम्मेवारी बोध आवश्यक छ।”
गुम्बाको पहिलो तल्लामा शक्ति भिम कक्ष निर्माण गरिएको छ, जुन स्व. श्रीमती भिम थकालीको स्मृतिमा उनका श्रीमान् शक्तिप्रसाद थकालीद्वारा करिब २५ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको हो। उक्त सभा हलको उद्घाटन स्वयं शक्तिप्रसाद थकालीज्यूको करकमलबाट सम्पन्न भएको थियो। यो कक्ष शैक्षिक, सामाजिक तथा सांस्कृतिक क्रियाकलापका लागि महत्वपूर्ण स्थल हुने विश्वास लिइएको छ।

उक्त अवसरमा स्व. भिम थकाली र स्व. वास्मती गुरुङ्गप्रति श्रद्धाञ्जलि अर्पण गरियो। विशेष गरेर वास्मती गुरुङ्गज्यूको पहिल्यैदेखिको संकल्प, सहयोग र हिम्मतले आज गुम्बा सम्भव भएको भन्दै वहाँको योगदानको स्मरण स्वरूप गुम्बा प्राङ्गणमा अर्धकदको शालिक स्थापना गरिने पनि घोषण गरिएको छ।
गुम्बा निर्माणमा सहयोग गर्ने विभिन्न संघसंस्थाहरूको उल्लेखनीय भूमिका रह्यो। सिद्धार्थनगर नगरपालिका तथा ढाक्रे खेलकुद तथा सांस्कृतिक परिवारद्वारा ट्रससहित ब्याटमिन्टन कोर्ट निर्माणमा रु. ३ लाख ७९ हजार ५६५ रूपैयाँको योगदान गरिएको थियो। त्यस्तै, फुलबारी सेवा समाजद्वारा करिब ९ लाखको लागतमा पक्की भान्साघर निर्माण गरिएको हो।
कार्यक्रममा फुलबारी सेवा समाजका अध्यक्ष हुकुम गुरुङ अनुसार “वास्मती गुरुङज्यूको दीर्घकालीन संकल्प, सहयोग र हिम्मतका कारण आज गुम्बा निर्माण सम्भव भएको स्मरण गर्दै, उहाँको योगदानको कदरस्वरूप गुम्बा प्राङ्गणमा अर्धकदको शालिक स्थापना गरिने घोषणा गरिएको थियो।”
कोष प्रवद्र्धन संयोजक युवराज उपाध्यायका अनुसार गुम्बा निर्माण लागत रु. ६२ लाख ४३ हजार १ सय ८ रुपैयाँ ४९ पैसामा सम्पन्न भएको हो। निर्माणको क्रममा फोहोरकारूपमा संकलित प्लास्टिक बोतल तथा फलामका टुक्राहरूसमेत बिक्री गरी आयस्रोतकोरूपमा प्रयोग गरिएको थियो।
समारोहमा झण्डै दुई सय जना सहभागी थिए भने १६८ जना सहयोगी दाताहरुलाई कदरपत्र प्रदान गरिएको थियो। कार्यक्रमभित्र तीनवटा सांस्कृतिक प्रस्तुतिहरू पनि समावेश गरिएको थियो।
कार्यक्रममा वडाध्यक्ष यादवले आगामी बजेटबाट गुम्बाको मुख्य प्रवेशद्वार निर्माण गर्ने, अधुरो पर्खालमा तारबारको जाली लगाउने र अल्मुनियम ढोका हटाएर फलामको ढोका राख्ने घोषणा पनि गर्नुभयो। “जात, धर्म हेर्ने हैन, सबैलाई एउटै दृष्टिकोणले हेर्ने छु,” भन्ने उहाँको भनाइले समाजमा सकारात्मक तरंग फैलाएको छ।
यस गुम्बाले बुद्धधर्मको संरक्षण मात्र नभई समाजमा एकता र समर्पणको भावनालाई पनि अझ सशक्त बनाउने विश्वास गरिएको छ।